११ बैशाख २०८१, मंगलवार

‘यास’ चक्रावतको असरले शनिबारसम्म मुलुकभर वर्षा, सतर्क रहन सरकारको आह्वान



 

काठमाडौं । यास चक्रावतको असरले मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।

मंगलबारदेखि नै भइरहेको वर्षा अब शनिबारसम्म अझ बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली र उच्च पहाडी भू(भागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्म उच्च वर्षासँगै बाढी पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन आह्वान गरेको छ ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्राधिकरणले जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ । कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको छ ।

प्राधिकरणले विपद् व्यवस्थापनमा खट्ने सबैले बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो ।

आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !