२१ मंसिर २०७९, बुधबार

भेरीमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमा एमाले नेता रावत नेतृत्व



नेपालगन्ज । चिकित्सक संघको बाँके जिल्ला शाखा कार्यालय परिसरमा बसिरहेकी उनको मुहार मलीन थियो । छेउमै चिकित्सक, स्वास्थ्यकर्मी र स्टाफ नर्स नाराबाजी गरिरहेका थिए, ‘वी वान्ट जस्टिस, नो सेक्युरिटी नो वर्क । आक्रमणकारीलाई कारबाही गर । प्रहरी–प्रशासन मुर्दावाद ।’कोरोना उपचार केन्द्र बनेको भेरी अस्पतालमा कार्यरत स्टाफ नर्स सदीक्षा गैरे रातिदेखि आफू र सहकर्मीमाथि कुरुवाबाट भएको आक्रमणको घटनाबारे सोध्नेहरूलाई जानकारी दिँदादिँदै थाकेकी थिइन् ।

बिहीबार राति अस्पतालको आईसीयूमा उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, मृतकका छोरा भरत, लोकराजलगायतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त आक्रमण र त्यसबाट जोगिन मोलेको जोखिम सदीक्षाले भुल्न सकिरहेकी थिइनन् । बिरामीको अवस्था गम्भीर भए पनि भेन्टिलेटरमा सार्ने क्रममा मृत्यु भएको केहीबेरमै वार्डमै पसेर उनीहरूले सुरुमा सदीक्षाको घाँटी च्यापेका थिए ।

प्रत्यक्षदर्शी चिकित्सकका अनुसार आक्रमणकारीले घाँटी च्यापेर जे पनि गर्ने बताइरहेका बेला अर्का कुरुवाले ‘के गरेको ? नगर्नूस्’ भनेका थिए । त्यसपछि आक्रमणमा संलग्न ती व्यक्ति अर्का कुरुवामाथि जाइलागे । त्यही बेला गैरेलगायत उक्त वार्डमा रहेका स्वास्थ्यकर्मी क्याबिनमा पुगेका थिए । ‘आक्रमणकारीले हाम्रो मान्छे मारिस् भन्दै मलाई खोज्न क्याबिनको झ्याल फुटाए, त्यसपछि लुक्न शौचालय गयौं,’ घाँटीको डाम देखाउँदै गैरेले भनिन्, ‘उनीहरूले शौचालयको ढोका फुटाउन थालेपछि झ्यालबाट हाम फाल्यौं । झ्यालमुनि बालुवा रहेछ । धन्न बाँच्यौं ।’ चिकित्सकका अनुसार कोरोना संक्रमित रावतलाई १० दिनअघि उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उनलाई सास फेर्न गाह्रो भएपछि आईसीयूमा राखिएको थियो । बिहीबार साँझ सवा ८ बजेतिर स्टाफ नर्स गैरे बिरामीको ईसीजी गरिरहेकी थिइन् । ‘एक्कासि बिरामीका आफन्त जाइलागे,’ उनले भनिन्, ‘हाम्रो बिरामीलाई पहिलाको अवस्थामा फर्काइदेऊ भन्दै मार्ने धम्की दिए ।’

स्वास्थ्यकर्मीका अनुसार प्रहरीलाई खबर गर्दा पनि आएनन् । त्यसैले स्वास्थ्यकर्मीले ज्यान जोगाउन शौचालयको झ्यालबाट हाम फालेर भाग्नुपरेको थियो । गैरे अढाई वर्षदेखि यहाँ कार्यरत छिन् । परिवार छोडेर दिनरात भोक प्यास नभनी बिरामीको सेवामा खटिँदा पनि आक्रमण हुनुले दुःख लागेको उनले बताइन् । ‘पहिला त परिवारले पनि यस्तो बेला सहयोग गर्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो,’ उनले भनिन्, ‘घटनापछि परिवारले पनि जागिर छोड्न दबाब दिन थालिसके ।’ आक्रमण हुँदा गैरेसँगै आश्मिनी गुरुङ, रीता अधिकारी, भावना श्रेष्ठ, कविता पुनसहित पाँच जना नर्स र डा। चन्द्रप्रकाश साहू खटिएका थिए । रावतको मृत्युपछि उनका भाइ मानबहादुर, भरतबहादुर र लोकराजले ड्युटीमा रहेका डाक्टर र नर्सलाई हातपात गरेको स्वास्थ्यकर्मीले बताए ।

मानबहादुरले आफ्ना दाजु बोलिरहेको अवस्थामा भेन्टिलेटरमा राखेकाले ज्यान गएको आरोप लगाएका छन् । ‘दाजु बोलिरहनुभएको थियो । हामीले भेन्टिलेटरमा किन राख्यौ भन्दा पनि भनेनन् । अन्ततः दाजुको ज्यान गयो,’ उनले फेसबुक स्टाटसमा उल्लेख गरेका छन्, ‘दाजुको ज्यान लिनेहरूसँग बदला लिन्छौं ।’ बर्दिया राजापुर–४ की आश्मिनी गुरुङ पाँच वर्षदेखि यहाँ कार्यरत छिन् । बिहीबारको घटनाले मनोबल कमजोर बनेको उनले बताइन् । ‘पहिल्यैदेखि बिरामीको अक्सिजन लेबल कम थियो । त्यसैले भेन्टिलेटरमा राखेका थियौं । त्यत्तिकैमा आफन्त आएर गालीगलौज गर्दै हातपात गर्न थाले,’ उनले भनिन्, ‘हामी झ्यालबाट हाम फालेर नभागेको भए के हुन्थ्यो के ।’

डा।साहुले आफूहरू पाँच जनालाई लखेटीलखेटी हातपात गरेको बताए । ‘बिरामीको अवस्था केही दिनदेखि नै गम्भीर थियो । एक दिनअघि उनीहरूले नै भेन्टिलेटरमा राखिदिनुपर्‍यो भनेका थिए । त्यो दिन खाली थिएन । बिहीबार भेन्टिलेटर खाली भएपछि हामीले राखिदियौं, त्यसको केहीबेरमा बिरामीको मृत्यु भयो,’ उनले भने, ‘त्यसपछि नर्सलाई घाँटी अँठ्याइयो । हामीलाई लखेटी लखेटी हातपात गरियो । हामी भगवान् होइनौं तर बिरामीलाई बचाउन लाखौं कोसिस गर्छौं तर के गर्ने मृत्यु हाम्रो हातमा हुँदैन ।’ उनका अनुसार आक्रमणपछि चिकित्सक र नर्सहरू भागेर एउटा कोठामा लुकेका थिए । आक्रमणकारीले त्यहाँको पनि ढोका फोरेपछि शौचालयमा लुक्न बाध्य भएको उनले बताए । त्यहाँको झ्यालबाट हाम फालेर भागेका थिए । ज्यान जोगाउन संघर्ष गरेका स्वास्थ्यकर्मी कर्तव्यविमुख भने भएनन् ।

नर्स गुरुङले घटनाप्रति प्रशासन संवेदनशील नभएको गुनासो पोखिन् । उनका अनुसार बिहीबार राति ११ बजे भएको उक्त प्रशासनसँग छलफलपछि उनीहरू ड्युटीमै खटिए । ‘ड्युटी त जसरी पनि पूरा गर्नै पर्ने थियो,’ गुरुङले भनिन्, ‘डराइडराई खटियौं ।’ सँगै खटिएकी भावना श्रेष्ठ झ्यालबाट हाम फाल्दा खुट्टा मर्किएपछि बेड रेस्टमा छिन् । ‘बिरामी निको भयो भने एक वचन धन्यवादसमेत नदिने तर मृत्यु भयो भने मार्नसमेत पछि नपर्ने मान्छेको व्यवहार देखेर खिन्न लागेको छ,’ उनले भनिन् । रीता अधिकारीले घटनापछि बिरामी हेरचाह गर्न डर लागेको बताइन् ।

स्वास्थ्यकर्मीमाथि हातपात भएपछि राति नै प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल र एसपी ओम राणा अस्पताल पुगेका थिए । लगत्तै पक्राउ गरिएका तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग र अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपी रानाले बताए ।

जिल्ला प्रशासनले सहायक प्रजिअ शंकर विष्टको संयोजकत्वमा घटना छानबिन समिति गठन गरेको छ । दोषीलाई कारबाही र सुरक्षाको माग अघि सारेका स्वास्थ्यकर्मीहरू शुक्रबार अस्पतालबाट नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।

को हुन् रावत ?

नेपालगन्जस्थित भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मी कुटपिटमा संलग्न मुख्य आरोपी तुलसीपुर–११ उरहरीका ४३ वर्षीय मानबहादुर रावत एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

पारिवारिक स्रोतका अनुसार यसअघि उनी तुलसीपुर उपमहानगरपालिकामा सुब्बा थिए । उरहरी गाविस सचिव हुँदै उनले नगरप्रमुख घनश्याम पाण्डेको सचिवालयमा काम गरेका थिए ।

त्यतिबेला उनले जनप्रतिनिधि महिलालाई सताएको गुनासो आएको थियो । महिला जनप्रतिनिधिमाथि यौन दुव्र्यवहार गरेको भन्दै पटकपटक उजुरी परेपछि नगरप्रमुख पाण्डेले सचिवालयबाट वडा कार्यालयमा जान आग्रह गरेका थिए । वडा कार्यालयमा शक्तिको अभ्यास गर्न सकिने स्थिति नभएपछि उनले ६ महिनाअघि जागिरबाटै राजीनामा दिएका थिए ।

रावतमाथि सात वर्षअघि लमहीकी एक महिला कार्यकर्तालाई बलात्कार गरेको आरोप पनि लागेको थियो । पार्टीको कार्यक्रम सकेर मोटरसाइकलमा घरमा पुर्‍याउन गएका रावतले जबर्जस्ती करणी गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसपछि उनी लामो समय फरार भएका थिए । पछि अदालतबाट सफाइ पाएपछि उनले फेरि राजनीति र जागिर सँगसँगै गरिरहेका थिए । उनले आफूलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलनिकट बताउँदै स्वास्थ्यकर्मीलाई धम्क्याउने गरेको पनि आरोप लागेको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

 



प्रतिक्रिया दिनुहोस !