१४ बैशाख २०८१, शुक्रबार

उधौली, ल्होसार र यमरी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा छुट्टाछुट्टै शुभकामना सन्देश



President Bidya Devi Bhandari (left), Prime Minister KP Sharma Oli and Vice President Nanda Bahadur Pun. Photos: RSS

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको उधौली तथा तमु गुरुङ समुदायको ल्होसार र नेवार समुदायको यमरी लगायत समग्र सांस्कृतिक पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।
यस्ता चाडवाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने राष्ट्रपतिले शुभकामनामा उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेकी छन् ।
कोभिड१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिमा पूर्वसावधानीका उपाय अवलम्बन गरी चाड मनाउन हुन उनले सबैमा आह्वान गरेकी छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले आज परेको चाडवाडका सन्दर्भमा शुभकामना दिनुहुदै देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता नै मुलुकको मौलिक पुँजी भएको बताए ।

तमु (गुरुङ) तथा किराँत राई समुदायले मनाउने चाडपर्वको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले प्रचलित भाषा धर्म, संस्कृति, भेषभूषालगायतका विविधता नेपालको बहुमूल्य पुँजी रहेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र सहिष्णुताको यस पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

विभिन्न संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भन्नु हुदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !