१२ बैशाख २०८१, बुधबार

जापानसहित खाडी मुलुकमा हवाई सेवा पुनः सञ्चालन गरिने



 

काठमाडौं । सरकारले निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ।

कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिमा जाने निर्णय गरेको हो ।

यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई , जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजारभन्दा यात्रु नबढ्ने गरी हवाई उडान सञ्चालन हुने सीसीएमसी निर्देशक समिति सचिवालयले जनाएको छ ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने जनाइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !