१२ श्रावण २०७८, मंगलवार

लागुऔषध गाँजा र ब्राउनसुगरसहित एकैदिन चार पक्राउ



काठमाडौं । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकैदिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ ।

लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा साढे छ किलो गाँजा र लागुऔषध ६०० स्पानो ट्याबलेट बरामद भएपछि महतोलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै गएराति नै लागुऔषध ब्राउनसुगर (खैरोहिरोइन)सहित प्रहरीले गोलबजार नगरपालिका–६ गुम्बाचोक निवासी राकेशकुमार लामालाई पक्राउ गरेको छ । लामाको साथबाट प्रहरीले २०० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको टोलीले घर नजिकैबाट लामालाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । लामामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीबार साँझ लागुऔषधसहित जिल्लाको सखुवान्नकारकट्टि गाउँपालिका–४ खयरबोना निवासी सुनिल गिरीलाई पक्राउ गरेको छ । भारतीय बजारबाट फर्किँदै गरेका बेला जाँच गर्दा गिरीको साथबाट नोरफीन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाइजी ल्याब १४ लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले गोलबजारबाट लागुऔषधसहित सप्तरीको बलानबिहुल गाउँपालिका घर भई सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी २५ वर्षीय प्रवीण शर्मालाई पक्राउ गरेको जनाएको छ । शर्माको साथबाट १०० पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीको कथन छ । FILE pHOTO



प्रतिक्रिया दिनुहोस !