११ बैशाख २०८१, मंगलवार

अर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका च्याम्पियन



काठमाडौं । जारी कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ। अर्जेन्टिनाले आफ्नो पुरानो तथा बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै २८ वर्षपछि महादेशीय उपाधि चुमेको छ।ब्राजिलको रियो डे जिनेरोस्थित ‘माराकाना’मा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शनी देखायो। एट्याक र डिफेन्स दुवैमा निकै सन्तुलित देखिएको अर्जेन्टिनाले ब्राजिलको एट्याकलाई पटक पटक विफल पार्न सफल भएको थियो।

दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपनि खेलमा अग्रता भने अर्जेन्टिनाले लिन सफल भयो। पहिलो हाफको २२औं मिनेटमा अर्जेन्टिनी फरवार्ड एन्जल डि मारियाले शानदार गोल गर्दै अर्जेन्टिनालाई खेलमा अग्रता दिलाए। रोड्रिगो डे पलको उत्कृष्ट लङ पासमा डि मारियाले ‘चिप शट’ प्रहार गरेका थिए।यस जितसँगै अर्जेन्टिनाले आफ्नो सबै भन्दा ठूलो प्रतिद्वन्दी ब्राजिललाई उसैको घरेलु मैदानमा पराजित गर्दै २८ वर्षपछि कोपा अमेरिका उपाधि उचाल्न सफल भएको हो। त्यस्तै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको पनि अर्जेन्टिनी जर्सीमा यो पहिलो प्रमुख उपाधि हो। सन् २०१४ को फिफा विश्वकप फाइनल र सन् २०१५ को कोपा अमेरिका फाइनलमा पराजय भोगेका मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय तथा कोपा अमेरिका उपाधि उचालेका छन्।



प्रतिक्रिया दिनुहोस !