१२ बैशाख २०८१, बुधबार

सफल र प्रभावकारी सरकार बनाउने सत्तारुढ गठबन्धनको निष्कर्ष



    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालन सफल र प्रभावकारी बनाउने निष्कर्ष गरेको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो । गठबन्धनमा कांग्रेस,जसपा,एमाले(माधव पक्ष),माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

    गठबन्धनलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने र सरकारलाई सफल बनाएर अगाडि बढ्ने बारेमा छलफल भयो’, बैठकमा सहभागी जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । अध्यक्ष केसीका अनुसार गठबन्धनका नेताहरूले पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने प्राथमिकता बनाउन र त्यसका लागि अनुदानको मात्रै भर नपरी खरिद गर्नुपरे गर्न समेत सुझाव दिएको बताए । त्यस्तै गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा सामान्य छलफल भए पनि विस्तृतमा छलफल नभएको नेता केसीले जानकारी दिए ।

    बैठकमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसहित जसपाका उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवा सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !