१० बैशाख २०८१, सोमबार

भारतमा ४४ हजार कोरोना सङ्क्रमित थपिए, एकै दिनमा ५५५ जनाको मृत्यु



नयाँ दिल्ली । भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको १.२८ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १५ लाख ७२ हजार ३४४ रहेको छ । ती मध्ये ४२ हजार ३६० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।
एकैदिनमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या अघिल्लो दिनभन्दा बढी भएको छ ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख २३ हजार २१७ जनाको मृत्यु भएको छ । ती मध्ये ५५५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४६ करोड ४६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४५ करोड ६० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । (एएनआई)



प्रतिक्रिया दिनुहोस !