१३ बैशाख २०८१, बिहीबार

पर्वतीय उडानमा यात्रुको आकर्षण बढ्यो, आज एकैदिन आठ उडान



काठमाडौं। सर्वोच्च शिखर सगरमाथा सहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ ।

कोरोना भाइरसको सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवर्द्धक भइरहेको एयरलाइन्सले जनाएका छन्।

बन्दाबन्दीको झण्डै ९ महिनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ।

कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा नेपालीहरू हिमाल अवलोकन गर्न औधि रुचाएका छन्।

नेपाली यात्रुलाई लक्षित गर्दै एयरलाइन्सले छुटसहितका अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन्।

दुवै कम्पनीले एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराएका हुन्।

निजी वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले हरेक शनिबार पर्वतीय उडान गर्दै आएका छन्। शनिबार एकै दिन आठ पर्वतीय उडान भएका छन्। बुद्ध एयरका पाँच र यती एयरका तीन उडान भएका हुन्।

यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जनाएको छ।

राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुने गरेको छ। अघिल्लो शनिबार दुवै कम्पनीका उडान रद्द भएकाले पनि आज एकै दिन धेरै उडान भएका हुन्।

गत शनिबार बुद्धका चार र यतीका (सिमरासहित) चार उडानमध्ये यतीले एक मात्र उडान गरेको थियो।

आज बुद्ध एयरले पाँच उडानमार्फत ३०० यात्रुलाई सगरमाथा अवलोकन गराएको जनाएको छ। यात्रुको उत्साहवर्द्धक माग बढेकाले अन्य दिन पनि पर्वतीय उडान गर्ने बुद्ध एयरको योजना छ।



प्रतिक्रिया दिनुहोस !