७ बैशाख २०८१, शुक्रबार

लामो समयपछि सफलता हात पार्न सफल गोलकिपर विशाल



काठमाडौ। धैर्य गर, पक्कै त्यसको फल पाउनेछौँ । धेर्यको फल कस्तो हुन्छ भनेर अनुभव गर्न पाएका छन् विशालले ।

गोलकिपर विशालले राष्ट्रिय टिमबाट खेल्नका लागि एक दशक प्रतीक्षा गरे । आइतबार घरेलु मैदान दशरथ रंगशालमा घरेलु समर्थकका माझ विशालले राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरे । नेपालको सिनियर टिमको लागि खेल्ने सपना पूरा गरे ।

बारम्बार घरेलु फुटबलको शीर्ष लिग जितिसकेका अनि लिगको उत्कृष्ट गोलकिपर पनि बनिसकेका विशाल श्रेष्ठ नियमित जसो राष्ट्रिय टिममा परे पनि खेल्न पाएका थिएनन् । त्यो पनि एक दुई खेल होइन, एक दशकदेखि उनी राष्ट्रिय टिममा छन् तर खेल्न पाएका थिएनन् ।

कीर्तिमानी खेलाडी किरणलाई रिप्लेस गर्दै विशालले घरेलु मैदानमा डेब्यु गरे । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ८६ औं मिनेटमा विशाललाई किरणको स्थानमा मैदानमा पठाए । डेब्यु गरेपछि विशालले अभिव्यक्त गर्ने शब्द नै नभएको बताए । यसका लागि प्रतीक्षा गरिरहेक विशालले सानैदेखि सपना देखेका थिए।

आइतबार बेलुका नै नेपाली टिमलाई प्रशिक्षकले छुट्टी दिएपछि विशाललगायत खेलाडी घर पुगिसकेका छन् । विशालले घरमा पुगेर परिवारसँग पनि खुशी मनाउन भ्याइसकेका छन् ।

विशाल सन् २०११ मा पहिलो पटक राष्ट्रिय टिममा परेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोटअन्तर्गत नेपालले २०११ जुन, जुलाईमा घरेलु मैदानमा टिमोर लेस्टेसँग खेलेका थिए । त्यही खेलमा उनी टिममा पहिलो पटक परे । तर खेल्ने अवसर भने पाएनन् ।

किरण चेम्जोङ नेपालको पहिलो रोजाइको गोलकिपर रहँदा विकेश कुथु र विशाल श्रेष्ठ बाँकी दुई गोलकिपरको रुपमा टिममा रहन्थे । यस्तै किरण चोटका कारण विकेश कुथु नेपालको पहिलो रोजाइको गोलकिपरका रुपमा खेल्थे । त्यो बेला पनि विशालले अवसर पाएनन् ।

उनले निरन्तर मिहिनेत गरे । धैर्य राखे । हिम्मत हारेनन् । अन्तत राष्ट्रिय टिमको जर्सी लागएरै छाडे । क्लब फुटबलमा जस्तै उनी राष्ट्रिय टिममा पनि २० नम्बरकै जर्सी लगाएर खेले ।

त्यसअघि उनले मनाङ मर्स्याङ्दी क्लबबाट पनि लिग जितेका थिए । ए डिभिजन लिगमा उनी विशालसँगै आइतबार डिफेण्डर राजन गुरुङले पनि राष्ट्रिय टिममा डेब्यु गरे । राजन मनिष डाँगीको स्थानमा विशालसँगै ८६औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

दुई खेलाडी मैदानमा प्रवेश गर्दा नेपाल २(० ले पछि थियो । ८६औं मिनेटमै नेपालले गोल फर्काए । गोल गर्ने खेलाडी थिए तेज गुरुङ । उनले पेनाल्टी एरियाभन्दा बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । तेजको राष्ट्रिय टिममा यो पहिलो गोल हो । विशाल र राजनले राष्ट्रिय टिममा डेब्यु गर्दा तेजले डेब्यु गोल गरे । यो सबै ८६औं मिनेटमै जुरेको थियो ।

खेलपछि नेपालका प्रशिक्षक अलमुताइरीले पनि सबै खेलाडीको प्रशंसा गरे । उनले दुई खेलाडीको डेब्युसँगै तेजको शानदार गोलको प्रशंसा गरे ।

 



प्रतिक्रिया दिनुहोस !