१५ चैत्र २०८०, बिहीबार

१२ वर्षीया बालिकाको पेटमा १० हप्ताको बच्चा



रूकुम। रूकुम पश्चिममा एक १२ वर्षीया बालिकाको पेटमा १० साताको गर्भ रहेको खुलासा भएको छ।

आठबिसकोट नगरपालिका( ११ स्थित ‘सिस्ने हिमाल बालगृह’ मा बस्दै आएकी बालिकालाई बालगृह सञ्चालकै छोराले बलात्कार गरेपछि पीडितले प्रहरीमा उजुरी दिएकी हुन् । आठबीसकोट नगर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट उनको पेटमा १० साताको गर्भ रहेको खुलासा भएको हो। पीडित बालिकाले दिएको उजुरी अनुसार हाल काठमाडौं बस्दै आएका रवि भनिने कुस्माकर चनाराले आफूलाई पटक, पटक बलात्कार गर्दै आएको उल्लेख गरेकी छिन्।

२०७७ र २०७८ सालको लकडाउनको समयमा रविले आफूमाथि जबरजस्ती करणी गरेको र कतै भनेमा ज्यान मार्ने धम्की दिएकाले केही भन्न नसकेको निवेदनमा उल्लेख गरेकी छन्।

रविकै लगातारको बलात्कारले गत असारदेखि आफ्नो महिनावारी बन्द भएको उनले उल्लेख गरेकी छिन्।

रवि आठबिसकोट नगरपालिका वडा नं। १० का वडाध्यक्ष गंगाराम चदाराका छोरा हुन्। सिस्ने हिमाल बालगृह रविकी आमा सुनिता चदाराले चलाउँदै आएकी छन्।

अनाथ, असहाय र टुहुरा बालबालिकाको संरक्षण गर्न भनेर खोलिएको उक्त बालगृहको उद्घाटन नेकपा माओवादीका नेता एवं अर्थमन्त्री जर्नादन शर्माले गरेका थिए। स्रोतका अनुसार ती बालिकालाई धर्मछोरी बनाएर शर्माले नै उक्त बालगृहमा संरक्षण तथा शिक्षा दिक्षाको लागि भनेर २०७४ सालदेखि राखेका थिए।

पीडित बालिकाले बालगृह सञ्चालिका चदाराले आफूहरूलाई बिभिन्न खाले श्रमशोषनसमेत गर्ने गरेको निवेदनमा उल्लेख गरेकी छन्। निवेदनमा सञ्चालिकाले आफूलाई उनको आफ्नो ओखर खेतीमा काम लगाउने, कुखुरा फार्ममा काम लगाउनेलगायतका घरासयी काम लगाउने उल्लेख गरेकी छन्।

कुखुराको खोरमा दाना हाल्न गएको समयमा रविले आफूलाई पछाडिबाट समातेर मुख थुनी पहिलो पटक जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ। बालिकाको पेटमा बलात्कार पछि गर्भ रहेको हल्ला ब्यापक भएपछि आठबिसकोट नगरपालिका न्यायिक समितिकी संयोजक गीता नेपालीले बालिकालाई अस्पताल पुर्‍याएर गर्भ जाँच गराउने तथा पीडक विरूद्ध प्रहरीमा निवेदन दिन सघाएकी थिइन्।

रूकुम पश्चिमले हाल काठमाडौंमा बस्दै आएका २२ वर्षीय रविको खोजी तिब्र गरेको छ।

 



प्रतिक्रिया दिनुहोस !