८ आश्विन २०७८, शुक्रबार

पति पत्तिको झगडा परालको आगो



हरेक पति पत्तिबिच झगडा त भैनै हाल्छ नि, तर त्यो झगडा कति समयसम्म टिक्छ थाहौ छैन । घरव्यवहार, पारिवारिक कुरा, निजी विचार वा इच्छा, आकंक्षा, अपेक्षा लगायत स–सना कुरामा दम्पतीबीच मतभेद हुन्छ । उनीहरु त्यही निहुँमा भनाभन गर्छन् । एउटा ठुस्किन्छन्घु अर्को घुर्की लगाउँछन् ।

कुनै न कुनै बखत बोल्नैपर्ने हुन्छ । मुख खोल्नैपर्ने हुन्छ । त्यसैले फेरी अर्को बहाना बनाएर उनीहरु बोल्न खोज्छन् । बाहाना अनेक हुन्छन् । रिसाएका पार्टनरलाई फकाउने बाहना खोजन्छन् मनपर्ने गीत सुनाएर हुन्छ कि, कुनै काम गरेजस्तो गरेर हुन्छ कि, मिठो खानेकुरा पकाइदिएर हुन्छ कि, सानोतिनो उपहार दिएर हुन्छ कि अनेक उपाय अपनाउन थाल्छन् ।

यसरी फकाई–फुल्याई गरेपछि दुबै फेरी एकाकार हुन्छन् । हाँस्छन्, गफिन्छन्, आत्मिय व्यवहार गर्छन् । एकअर्काको तारिफ गर्छन् । केयर गर्छन् । तर, यस्तो सुमधुर वातावरण कहिलेसम्म रहने थाहौ छैन ।

केही सानो निहुँ आइपर्छ र फेरी पति–पत्नीबीच भनाभन सुरु हुन्छ । उनीहरु आफ्नो तर्कले एकअर्कालाई जित्न खोज्छन् । आफु हावी हुन खोज्छन् । पार्टनरलाई गलाउन वा हराउन खोज्छन् । नोकझोंक हुन्छ । झगडा हुन्छ । बोलचाल बन्द । फेरी फकाउने, फुल्याउने क्रम दोहोरिन्छ । हरेक दम्पतीमा यस्तो हुन्छ ।

एक दम्पती, जो अति सानो निहुँमा झगडा गरिहन्छन् । अर्का दम्पती जो, त्यस्ता सानोतिनो कुरालाई वास्तै गर्दैनन् । एक दम्पती, जो एकअर्कालाई सनोतिनो कुरामा दोषरोपण गरिरहन्छन् । अर्का दम्पती, जो सानोतिनो कुरामा दोष लगाउन उचित ठान्दैनन् । यी भनेका, उक्त दम्पतीको सोच्ने क्षमता र प्रवृत्तिले निर्धारण गर्ने कुरा हो । कुनै दम्पती सामान्य विषयमा पनि झगडा गर्छन् । त्यही आगोमा घिउ थप्ने होडबाजी चल्छ । उनीहरुको झगडाको उत्कर्ष हात हालाहालमा पुगेपछि मात्र टुंगिन्छ ।

कति दम्पतीको सामान्य विषयमा मतभेद पैदा हुन्छ । पार्टनरले त्यसमा कडा प्रतिक्रिया जनाउन थाल्छ । तर, अर्का पार्टनर त्यो झगडालाई अगाडि बढाउन चाहँदैनन् । चुपचाप सहन्छ वा फकाइ फुल्याइ गर्छ वा आफ्नो गल्ती स्विकार गर्छ ।

बच्चा जन्माइसकेका दम्पतीबीच झगडाको एउटा कारण बच्चा हुनेगर्छ । बच्चाको निहुँमा पति–पत्नीबीच सानोतिनो मतभेद रहन्छ । बच्चाप्रति दुबैको धारणा र व्यवहार एकनास नहुँदा पनि मनमुटाव हुनेगर्छ । बच्चालाई कसरी हुर्काउने, कसरी पढाउने, के बनाउने, के नबनाउने भन्ने कुरामा पति–पत्नीको बिचार बाझिन्छ । यस्ता कुरामा एकमत हुनका लागि उनीहरुको झगडाले एउटा निष्कर्ष भने निकाल्छ । जब पति पत्नीबीच भनाभन हुन्छ, तर्क–वितर्क चल्छ, त्यसले एउटा ठोस निर्णय निकाल्छ । वास्तवमा यही कारण पति–पत्नीमा हुने कतिपय मतान्तर फाइदाजनक हुन्छ ।

आखिर जे भएपनि उनीहरुको झगडा आफ्नै दाम्पत्य जीवन, पारिवारिक जीवनमा केन्द्रित रहन्छ । दुबैको धारणा, चाहना, आकंक्षा भनेकै परिवारलाई समृद्ध बनाउनका लागि हुन्छ । सुखी बनाउनका लागि हुन्छ । खुसी बनाउका लागि हुन्छ ।

गाँउघर तिर त प्रख्यात नै छ, यो उपाय

एउटा कथा छ, झगडाको ओखती । सारमा कथाले दुई दम्पतीबीचको झगडा मिलाउने विधी भनेको चुपचाप रहनु नै हो भन्छ । अर्थात एकअर्कासँग तर्क–वितर्क गरिरहँदा झगडाले ठूलो रुप लिन्छ । जब दुईमध्ये एक चुप बस्छन्, झगडा नै हुँदैन ।

कथा अनुसार एक परिवारमा दम्पतीबीच बारम्बार झगडा हुन्छ । उनीहरुबीच किन झगडा भइरहेको छ ? ठोस कारण छैन । तैपनी झगडा हुन्छ । अन्ततः पत्नी एक वैद्यकहाँ पुग्छिन्, झगडाको ओखती खोज्दै । वैद्यले एक तरल पेय दिदैँ भन्छन्, ‘जब झगडा सुरु हुन्छ, यो ओखती मुखमा राख्नु । तर, यसलाई निल्न वा थुक्न पाइदैँन । झगडा हुँदैन ।’

पत्नीले त्यसै गर्छिन् । झगडा सुरु हुनु अघि उनले सो पेय मुखमा राख्छिन् । पति कराउन थाल्छन्, गाली गर्न थाल्छन् । तर, पत्नी चुपचाप । आखिरमा पति थाक्छन् र बोल्न छाड्छन् । यो क्रम केही दिन चलेपछि उनीहरुको झगडा हुनै छाड्छ । वाद विवाद नै नभएपछि झगडा हुने कुरै भएन ।

खासमा झगडाको ओखती भनेर दिइएको पेय पानी हुन्छ । पानीले झगडा रोक्ने त होइन । तर, पानी मुखमा हालेर बसेपछि बोल्न मिलेन । बोल्न नमिलेपछि झगडा भएन । कथाको सारले भन्छ, चुपचाप बस्नु वा अनावश्यक विवाद नगर्नु नै झगडाको ओखती हो ।

 



प्रतिक्रिया दिनुहोस !