११ बैशाख २०८१, मंगलवार

अब खुल्ने भयो चितवनका विद्यालयहरु



चितवन। चितवनका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाईले जनाएको छ ।

स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाईको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा प्रर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ। विद्यार्थीले मास्क र फेसशिल्ड आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ ।

विद्यालय सञ्चालनका लागि १५ बुँदे मापदण्ड तयार गरिएको छ । मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जनाइएको छ ।

विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरेर आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने व्यवस्था गरिएको छ। एउटा कक्षाको एक सिफ्ट र अर्को सिफ्ट समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रिने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने छ ।

ज्वारो आउने, जीउ दुख्ने जस्ता कोभिडको लक्षण देखिएका विद्यार्थी र शिक्षकको तत्काल एन्टिजेन परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्नेछ छ ।

 



प्रतिक्रिया दिनुहोस !