१२ बैशाख २०८१, बुधबार

डिप्रेशन बन्यो, सङ्खुवासभाको सामुहिक हत्याकाण्डको कारक



काठमाडौं। पछिल्ला वर्षहरूमा बालहत्या र सामूहिक हत्याका घटना बढ्दै गएका छन् । यस्ता घटनामा बढी आफन्तकै हात रहने गरेको छ । हालै सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १, उम्लिङ खोलामा यस्तै घटना भयो, जहाँ एकै परिवारको छ जनाको हत्या भयो ।

सङ्खुवासभा जिल्लामा भएको घटनामा पनि यस्तै हो, जहाँका दोषीले डिप्रेशनको औषधी खाने गरेको पाएको छ । जब मानिस डिप्रेशनको तह बढ्दै गएर चरम अवस्थामा पुग्छ तब कि आफैँ समाप्त हुन्छ कि अरूलाई समाप्त गर्नेतर्फ लाग्छ ।

विगत चार वर्षयता २५ वटा यस्ता सामूहिक हत्याका घटना दर्ता भएका छन्, जहाँ बालबालिकादेखि ज्येष्ठ नागरिकसमेत गरी ६८ जनाले ज्यान गुमाएका थिए ।

खासगरी यस्ता घटनामा डिप्रेसनका बिरामीहरूको संलग्नता बढी रहेको पाइएको छ । सामूहिक घटनाका दोषी कि डिप्रेशनको औषधी सेवन गरिरहेका देखिन्छन् कि औषधी सेवन गरी छाडेका व्यक्तिहरू पर्छन् । जब व्यक्ति सामाजिक विभेदको शिकार बन्छ, तब थप उत्तेजित हुन्छ र प्रतिशोध लिने क्रममा बात यति धेरै बढ्छ कि सामूहिक हत्यासम्म पुग्ने गर्छ ।

यस्ता घटना जघन्य अपराध हुन् भन्ने हत्याराहरूलाई थाहा नभएको होइन । जस्तोसुकै गोप्य ढङ्गले गरिएको भए पनि एक दिन पत्ता लाग्छ र दण्डित हुनुपर्छ भन्ने पनि थाहा पाएकै हुन्छन् । तैपनि मानिसले क्षणिक आवेगलाई थाम्न नसक्दा अपराधिक घटना हुन पुग्छ।

मनोवैज्ञानिकहरू भन्छन्– ‘मानिसको मनको गति नै यति बढी भयानक हुन्छ कि कतिबेला के सोच्न पुग्छ भन्नै सकिन्न । प्रत्येक दिन बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म मनमा आएका वा उठेका विचारहरूलाई टिपोट गर्दैै जाने हो भने ऊ आफैँ दङ्ग पर्नुपर्ने अवस्था आउन सक्छ ।’

मनमा आउने विचारहरूमा कति सकारात्मक हुन्छन्, कति नकारात्मक । जतिबेला यिनै नकारात्मक विचार वा कुण्ठा एकैसाथ बिस्फोट हुन्छ वा प्रकट हुन पुग्छ, तब हुने भनेको यस्तैखाले घटना नै हुन् । सुरक्षा निकायहरूका अनुसार सामुहिक हत्या जस्ता घटनाका विभिन्न कारण हुन सक्छन् । तिनमा विशेषगरी अभाव, गरिवी, डिप्रेसन, आर्थिक विचलन, अवैध यौन, असफल प्रेम, लागूऔषध सेवन आदि बढी रहेका छन् ।

यस्ता मानिसले सुरूमा सामूहिक हत्या गर्ने योजना बनाएका हुँदैनन् । जुन व्यक्तिप्रति बढी रिस वा कुण्ठा हुन्छ वा छ, उसैलाई समाप्त गर्ने विचार हुन्छ । तर, घटनालाई कसैले देखेको छ वा उसलाई देखेको छ भन्ने लागेको हुन्छ, तब सबैलाई एकएक गरी समाप्त पार्ने मन बनाउँछ र सामूहिक हत्याको विभत्स तस्वीर खडा हुन पुग्छ ।

डिप्रेशन आफैँमा रोग नभई समस्या हो । समस्या पनि खासै त्यति ठूलो होइन । समयमै नियमित औषधी सेवन गरे ठीक हुन्छ । तर, खाँदै छाड्दै गर्ने हो भने औषधीले पनि काम गर्दैन र समस्या झन् बढ्दै जान्छ ।

 

 



प्रतिक्रिया दिनुहोस !