१५ चैत्र २०८०, बिहीबार

पुर्वी चितवनमा एक जनाको हत्या, सात जना घाइते



चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ९ सितलटोलमा प्रहरी र स्थानीय बीच झगडा भएको छ ।

गएराती साँढे नौ बजेको समयमा पुर्वी चितवनको राप्ती नगरपालिका ९ सितलटोलमा स्थानीय ५० बर्षीया दशरथ मल्लले फलामको गलले हिर्काइ सोही ठाउँ बस्ने ५९ बर्षिया कान्छा लामाको हत्या गरेका हुन् ।

स्थानीयसँग भएको झडपमा परी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक स्याम बस्नेत, ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक रोशन खड्का घाइते भएका छन् । त्यस्तै, दंगा प्रहरी नियन्त्रण गण दरबन्दी भई थप जिल्ला प्रहरी कार्यालय चितवनमा थप टोली आएका प्रहरी जवान अनिल बिक, प्रहरी जवान निकेश प्रजा, प्रहरी हवल्दार टेकेन्द्र राना समेत घाइते भएका छन् । स्थानीयका तर्फबाट सुस्मा पुन र कुशल पुन समेत घाइते छन् ।

घाइते भएका प्रहरी निरीक्षक खड्काको आँखामा गहिरो चोट लागेको छ भने, बिकको दाँत भाँचिएको छ । उनीहरूको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट शवसँगै हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडप भएको हो ।

स्थानीयले पक्राउ परेका व्यक्तिमाथि आक्रमण गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । मृतकको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

रातभर तनावग्रस्त भएको त्यहाँको अवस्था अहिले सामान्य हुँदै गएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !