११ बैशाख २०८१, मंगलवार

सोह्र श्राद्ध सुरु भए संगै, पिण्डदानका लागि कागबेनी पुग्न थाले श्रद्धालु



काठमाडौं। असोज ५ गतेदेखि सोह्र श्राद्ध सुरू भएको हो ।

हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलको रुपमा रहेको मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरु पुग्न थालेका छन् ।

कोरोना सङ्क्रमण भन्दा पहिले सोह्र श्राद्ध गर्न दैनिक हजारौँको सङ्ख्यामा भक्तजनहरु मुक्तिनाथ र कागबेनी पुग्ने गर्थे । कोरोना सङ्क्रमणपछि कागबेनीमा श्राद्ध गर्न जाने भक्तजनको सङ्ख्या पातलिँदै आएको हो।

मुस्ताङ प्रशासनले यस वर्ष कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट र दुवै खोप लगाएको कार्डको आधारमा प्रवेशका लागि अनुमति दिएको हो ।

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्डदान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

तीर्थस्थलमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एकपटक भए पनि आफ्ना पितृको उद्धारका लागि पिण्डदान गर्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस !