१३ बैशाख २०८१, बिहीबार

छोटो समयमा नै चर्चामा आउन सफल चितवनको रत्ननगर अस्पतालन



चितवन । निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण यहाँको एक अस्पतालले दिएको छ । पूर्वी चितवनस्थित बकुलहर रत्ननगर अस्पतालले दुई वर्षमा आमूल परिवर्तन गरेको छ । चार नगरपालिकाका बासिन्दा यो अस्पतालबाट प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

दुई वर्ष अघिसम्म स्वास्थ्य बीमाका बिरामीको रिफरल सेन्टर बनेको यस अस्पतालको अधिकांश विभागमा अहिले विशेषज्ञ चिकित्सकसहितको टोली छ । अस्पतालको सुधारमा योगदान पु¥याउनु भएका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगाले राजधानी बाहिरका प्रदेशस्तरको अस्पतालको तुलनामा अग्रणी अस्पतालको रुपमा अघि बढ्न यो अस्पताल सफल भएको बताएका छन् ।

पूर्वी क्षेत्रमा स्वास्थ्य बीमाको प्रथम बिन्दु सो अस्पताल भएकाले उपचार नपाए पनि रिफरका लागि त्यहाँ बिरामी जाने गरेकामा अहिले त्यही उपचार हुन थालेको छ । विसं २०२४ मा हेल्थपोष्टका रुपमा स्थापित सो अस्पताललाई स्वास्थ्य मन्त्रालयले विसं २०६४ मा १५ शय्याको अस्पताल बनाउन स्वीकृत दिएको थियो । सङ्घीयतासँगै प्रदेशस्तरीय अस्पताल बनेको उक्त अस्पताल अहिले रत्ननगर नगरपालिका मातहत सञ्चालन हुँदै आएको छ । पछिल्लो समय ५० शय्या स्वीकृत भएकामा ४३ शय्या सञ्चालन हुँदै आएको छ ।

अस्पतालमा पाँच शय्याको डायलासिस सेन्टर छ । यसको व्यवस्थापन राष्ट्रिय मिर्गौला केन्द्रले गर्दै आएको छ । यसैगरी स्वीजरल्याण्ड निवासी डा रुथको संयोजकत्वमा छालासम्बन्धी उपचार पनि हुँदै आएको छ । शान्ति मेड नामक सो संस्थाले १५ विशेषज्ञ चिकित्सकसहित कर्मचारीको पारिश्रमिक भुक्तानी गर्दै आएको छ । यो संस्था डा रुथको हो । उहाँको चिकित्सक समूहसँग छालाको उपचारका लागि चितवन र छिमेकी जिल्लाबाट पनि आउने गर्दथे ।

पछिल्लो समय बहिरङ्ग सेवाका भवन निर्माण भएकाले अस्पतालको सेवा विस्तार पनि गरिएको छ । यहाँ हाल मानसिक रोगबाहेकका अधिकांश विभाग सञ्चालनमा छन् । अस्पतालमा केही समयपछि पाँच–पाँच शय्याका बाल सघन उपचार कक्ष, एक महिनादेखि १४ वर्षसम्मका लागि पिआइसियु र सघन उपचार कक्ष सञ्चालनमा ल्याउन लागिएको छ ।

अस्पतालमा दैनिक चार/पाँच जनाको शल्यक्रिया हुँदै आएको छ । चौबीसैँ घण्टा फार्मेसी, प्रयोगशाला, चिकित्सकसहित आकस्मिक सेवा सञ्चालन भएकाले बिरामी लाभान्वित भएका छन् । अस्पतालमा नयाँ शल्यक्रिया कक्ष र १० शय्याको पोष्टअप निर्माण पनि अन्तिम चरणमा पुगेको छ । अस्पतालमा दैनिक ५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको छ । पीसीआर गर्ने उपकरण पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

अस्पतालको आफ्नै फार्मेसीमा ६०० भन्दा बढी प्रकारका औषधि रहेकाले बिरामीका लागि मागअनुसारको औषधि उपलब्ध गराउन सकिने मेडिकल सुपरिटेण्डेण्ट डा बगाले बताउनुहुन्छ । पच्चिस चिकित्सकसहित १२५ स्वास्थयकर्मी तथा कर्मचारीमध्ये १४ विशेषज्ञ चिकित्सक छन् ।

बिरामीको चाप र भीडभाड हुन नदिन बिहान ८ बजेदेखि टिकट काटने र ९ बजेदेखि परीक्षण गर्ने गरिएको छ । कोभिडका समयमा समेत कहिल्यै पनि बहिरङ्ग सेवा बन्द नगरिएको अस्पतालले जनाएको छ । पछिल्लो समय सेवा विस्तारसँगै अस्पतालमा आम्दानी पनि बढेका कारण अस्पतालकै आम्दानीबाट सेवा बढाउँदै लगिएको उहाँ बताउनुहुन्छ । अस्पतालको मुख्य आम्दानी बीमा भएकाले मासिकरुपमा रु ६० लाखभन्दा बढी बीमा दाबी गर्ने गरिएको छ । मासिक खर्च रु २५ लाख हाराहारी छ । वचत रकम अस्पताल विस्तारमा खर्च हुँदै आएको मेडिकल सुपरिटेण्डेण्ट डा बगाले उल्लेख गर्नुहुन्छ ।

प्रदेश सरकारको सैद्धान्तिक सहमति भए पनि हालसम्म खासै सहयोग भने अस्पतालले पाउन सकेको छैन । साङ्गनिक संरचना निर्धारण गरेर प्रदेश सरकारले बजेट दिएमा नमूना अस्पताल बनाउन सकिन्छ कि भन्ने अनुमान छ ।

 



प्रतिक्रिया दिनुहोस !