१२ बैशाख २०८१, बुधबार

यस वर्षको बडादसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत विहान १०ः०२ बजे



 

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नु पर्ने जनाएको छ ।

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने जनाएको छ ।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ः ११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ।

असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ। असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस !