१६ चैत्र २०८०, शुक्रबार

ढकाल किन नेपाली कांग्रेस (बीपी) उप–सभापति भए ?



काठमाडौं । नेपाली कांग्रेस (बीपी)को उप–सभापतिमा विष्णुप्रसाद ढकाललाई मनोनयन गरिएको छ ।

पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई उप–सभापतिमा मनोनयन गरेको गरेको पार्टीले जनाएको छ । भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । विशेष महाधिवेशनले सुशीलमान शेरचनलाई सभापतिमा चयन गरेको छ । उप–सभापतिमा मनोनीत भएका ढकाल विशेष महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए । ढकाल झण्डै ४५ वर्षअघिबाट राजनीतिमा सक्रिय छन् । ढकालले पार्टी विस्तारमा महत्वपूर्ण योगदान गरेकाले पनि उनलाई उप–सभापति बनाइएको पार्टीले जनाएको छ ।

ढकाल नेपाली कांग्रेसको राजनीतिबाट उदाएका हुन् । उनी काठमाडौंको धर्मस्थली गाउँ विकास समिति रहँदा पार्टीको ५ पटकसम्म सभापति भइसकेका छन् । उनी पार्टीको महासमिति सदस्य पनि भइसकेका छन् । नेपाली कांग्रेसले आफ्नो विचार र सिद्धान्त छोडेकाले आफूहरुले नयाँ पार्टी खोलेर त्यही विचारलाई आत्मसात गर्दै अघि बढेको उनको भनाई छ । उनले उप–सभापति भइसकेपछि भने ‘नेपाली कांग्रेस (बीपी) लाई गाउँ गाउँसम्म लाने मेरो योजना हो, त्यो भिजन मसँग छ ।’ उनले पार्टीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !