१० बैशाख २०८१, सोमबार

महामारीमा अभिभावक गुमाएका विद्यार्थीलाई ‘भरोसा छात्रवृत्ति’



काठमाडौं । कोरोना महामारीका कारण अभिभावक गुमाएर शिक्षाको अवसरबाट बञ्चित हुन पुगेका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने भएका छन् ।

राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको अगुवाइमा ती बालकालिकालाई छात्रवृत्ति व्यवस्था गर्न लागिएको हो । अभियानलाई ‘भरोसा छात्रवृत्ति अभियान’ नाम दिइएको छ । अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिनेछ ।

काँग्रेस नेता एवं सांसद गगनकुमार थापा, डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झा, सिन्धुपाल्चोक जिल्लालाई प्रमुख कर्मथलो बनाएर शिक्षा क्षेत्रमा कार्यरत संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डाले अभियानको नेतृत्व गरेका छन् ।

कोभिड महामारीका कारण अभिभावक गुमाएका बालकालिकाले राज्य, संघसंस्था र व्यक्तिगत तवरबाट तत्कालका लागि केही राहत पाएको भए पनि उनीहरुको शैक्षिक निरन्तरता चुनौतीपूर्ण हुने ठानेर आफूहरुले अभियान थालेको बताएका छन् । उनले पहिलो वर्षको छात्रवृत्तिका लागि आवश्यक रकमको जिम्मा डिशहोम नेटवर्कले लिएको र आगामी वर्ष अभियानमा संलग्न सबै र सहयोगी हातहरुलाई अपिल गरेर अभियान निरन्तर अगाडि बढाउने योजना रहेको उल्लेख गरे ।

हालका लागि छात्रवृत्तिमा आवश्यक रकमको जोहो डिशहोम परिवार (लगानीतकर्ता, कर्मचारी, देशभरका डिलर तथा शब डिलर) ले गर्नेछ । यो वर्ष ४० लाख रुपैयाँ खर्च गर्ने कार्यक्रम रहेको छ । यसको जिम्मा डिशहोमका प्रबन्ध निर्देशक आचार्यले लिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !