१० बैशाख २०८१, सोमबार

राजीनामा दिए उद्योगमन्त्री गजेन्द्र हमालले



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् ।

शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका मन्त्री हमालले आज बिहान पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री देउवाले हमालको नियुक्तिको विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका हुन् ।

आफू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न पदमा सक्रिय रही बाँकेको पार्टी सभापतिसमेत भएर काम गरेकाले सोहीअनुसार मूल्याङ्कन गरी प्रधानमन्त्रीबाट आफूलाई मन्त्री पदमा नियुक्ति भएको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् । विभिन्न सञ्चारमाध्यममा सम्प्रेषित समाचार तथा कानुनविद्ले आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तका लागि लडेको लडाइँको समेत अवमूल्यनको बोध भएको पत्रमा उल्लेख छ ।

आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेपछि पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशङ्काकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेको भन्दै मन्त्री हमालले पदबाट राजीनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !