११ बैशाख २०८१, मंगलवार

हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या



काठमाडौं। इलाका प्रहरी कार्यालय सुर्खेत, टीकापुरको हिरासत कक्षमा रहेका एक थुनुवाको शव फेला परेको छ । हिरासत कक्षकै शौचालयमा सुर्खेत चौकुने गाउँपालिका–३, बेतानमा बस्ने ३५ वर्षिय धनबहादुर रानाको शव फेला परेको हो ।

आइतबार कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुर निवासी पुलुराम थारुको भैंसी चोरी भएपछि खोजतलाश गर्दै जाँदा कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर. ५ थापापुरस्थित झुलुङ्गे पुल नजिक उक्त चोरी गरेको भैंसीसहित धनबहादुर रानालाई फेला पारेपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । भैंसी धनीले धनबहादुर माथि आवश्यक कारबाही गरी पाउँ भनी ईलाका प्रहरी कार्यालय टीकापुरमा लिखित निवेदन दिएका थिए । सोही क्रममा धनबहादुरलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा राखिएकोमा थियो ।

सोमबार बिहान अन्दाजी ६ बजेको समयमा धन बहादुर राना सोही कार्यालयको हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा गन्जीको डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !