१९ बैशाख २०८१, बुधबार

राप्ती नगरपालिकामा बालविवाह रोक्न प्रोत्साहन भत्ता दिन सुरु



राप्ती । चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ ।

नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो । राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप रु १५ हजार प्राप्त गरेकी छिन् । नगरप्रमुख प्रभा बरालका अनुसार २० वर्षसम्म विवाह नगरी स्नातक अध्ययन गरिरहेकी प्रजाबाट प्रोत्साहन रकम वितरण कार्यक्रम सुरुआत गरिएको हो ।

२० वर्षमा नै तीन सन्तान बोकेर आमा आउने गरेपछि बालविवाह निरुत्साहित गर्न प्रोत्साहन रकम दिन थालिएको हो । यसरी विवाह गर्दा बालिकाको पढाई बिचमा नै छुट्ने गर्छ । पढ्दा पढ्दै ११ वर्षदेखि नै चेपाङ छात्रा विवाह गरेर जाने गर्दछन् ।

केही वर्ष अघिसम्म भर्ना दर ९० प्रतिशत रहेकामा हाल शतप्रतिशत भए पनि बीचैमा पढाइ छोड्ने धेरै भएको नगरप्रमुख बराल बताउँछिन् । धेरैले कक्षा ८ सम्म पढेपछि पढाइ छोड्ने गरेका छन् । बीचमा नै पढाइ नछोडून् र उमेर पुगेपछि मात्र विवाह गरुन भन्ने उद्देश्यले नगरपालिकाले यसै वर्षबाट प्रोत्साहन रकम दिने नीति बनाएको हो ।

सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । नगरपालिकामा ६४ हजार ८ सय २० जना जनसङ्ख्या रहेकामा ८ हजार चेपाङ समुदाय रहेका छन् । आर्थिक हिसाबले पछाडि परेका चेपाङलगायतका अन्य समुदायका लागि नगरपालिकाले तीन छात्रबास सञ्चालन गरेको छ भने लक्ष्मी प्रतिष्ठान नामक संस्थाले एउटा छात्रबास सञ्चालन गर्दै आएको छ ।

छात्रबासमा नै रहेर अध्ययन गर्दागर्दै विवाह गरेर माथिल्ला कक्षामा छात्राको सङ्ख्या घट्दै जाने गरेको छ । यसरी कम उमेरमा नै विवाह गर्दा एउटा बच्चाले अर्को बच्चालाई जन्म दिन्छे । जुन समय त्यो बच्चाको लागि एकदमै महत्वपूर्ण छ । उसका लागि यो समय उसको आमा, वुवा को साथमा रहन एकदमै आवश्यक मानिन्छ । आफ्नो अगाडीको पढाइ पुरा गर्नु सामाजिक अनि शारीरिक हिसाबले त्यो बालिकाका कर्तव्य अनि अधिकार पनि हो ।



प्रतिक्रिया दिनुहोस !