६ बैशाख २०८१, बिहीबार

मुख्यमन्त्रीको कार्यालयमा पस्यो पानी



जनकपुरधाम। मंगलबार रातिदेखि भएको निरन्तर वर्षा र डुबानले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयपरिसरमा पानी पसेको छ ।

हवाहुरी र वर्षा सँगै भइरहेकोले जनकपुरधाम–काठमाडौं हवाइ उडान समेत प्रभावित भएको छ । दैनिक १० उडान हुने जनकपुर–काठमाडौं हवाइ सेवा अवरुद्ध भएको छ । मौसम खराब भएपछि सोमबार पनि तीन वटा उडान क्यान्सिल गरेको जनकपुर विमानस्थलबाट जानकारी प्राप्त भएको छ ।

यसैगरि, स्थानीय रामानन्द चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडीको सडक, शिवचोकसहितका सडकको पानीको निकास नहुँदा डुबानमा परेको छ । उपमहानगरपालिकाले डोजर लगाएर जाम भएका नालालाई साफा गरेपछि पानीको घट्दै गएको छ । यसैबीच धनुषा र सिरहाको सिमाना कमला नदी तथा धनुषाका अन्य नदीहरूमा पानी सतह बढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हावाहुरीसँगै भइरहेको वर्षाले प्रदेश २ को प्रमुख धानबालीमा क्षति पुगेको छ । वर्षासँगैको हावाहुरीले भित्र्याउने बेला भएको धानबालीलाई नोक्सान गरेको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले बताए । अग्लो क्षेत्रको धान खेतमा खासै प्रभाव नपारे पनि समतल तथा गहिरो जग्गाको खेतको बालीमा नोक्सान भएको छैन ।

 



प्रतिक्रिया दिनुहोस !