११ बैशाख २०८१, मंगलवार

एमाले महाधिवेशनको लागि चितवनमा उपयुक्त ठाउँ हेरिँदै



काठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन गर्नको लागि चितवनमा उपयुक्त ठाउँको खोजी भइरहेको छ ।

चितवनका एमाले शीर्ष नेताहरु र जिल्ला कमिटीले महाधिवेशनको उपयुक्त ठाउँ छनोटको लागि छलफल सुरु गरेको हो ।

चितवनका एमाले नेताहरु सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, पार्वती रावलसहित पार्टीका नेताहरुले सौराहाका व्यवसायीहरुसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा आज छलफल गरेका छन् । सोही अवसरमा उनीहरुले सौराहाका विभिन्न सम्भावित ठाउँको स्थलगत अवलोकन पनि गरेका छन् । आगामी मंसिर १०–१२ मा चितवनमा गरिने महाधिवेशनको खुला शत्र नारायणगढको नारायणी किनार र बन्द शत्र सौराहामा गर्न उपयुक्त हुनेमा चितवनको एमाले नेतृत्व निष्कर्षमा पुगेको छ ।

सौराहामा हात्ती महोत्सव गरिने वागमारा सामुदायिक वनको चौरलाई बन्द शत्र सञ्चालन गरिने स्थलको रुपमा छनोट गरिएको छ । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सौराहाका होटलहरुको क्षमता छ हजार जना राख्न सक्ने रहेकोले महाधिवेशनमा चार हजार जना राख्नको लागि खासै समस्या नपर्ने बताए ।देशभर र विदेशका पनि प्रतिनिधिहरु सौराहा आउने भएकोले कोभिडको महामारीले थला पारेको सौराहाको पर्यटनमा यसले थप उत्साह थप्ने छ । पार्टीको स्थायी कमिटीले चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेसँगै चितवनमा के कसरी महाधिवेशनको व्यवस्थापन गर्ने भन्ने छलफल सुरु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !