११ बैशाख २०८१, मंगलवार

मंसिर र पुसमा देशभरका पाटेबाघ गणना गर्ने तयारी



काठमाडौं। राष्ट्रिय निकुञ्जहरूमा आगामी मंसिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार,पाँच वर्षको अन्तरमा गणना गरिन्छ ।

यसको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उनको भनाइ छ ।

पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणना गर्ने तयारी गरिएको छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई–दुई ग्रिडअर्थात् ४ वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ । कम्तीमा दुई हप्ता क्यामेरा राख्नुपर्ने हुन्छ ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिँदै छ ।सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । तत्कालीन समयमा चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए ।



प्रतिक्रिया दिनुहोस !