८ बैशाख २०८१, शनिबार

जनता आवास कार्यक्रम मार्फत चितवनमा घर निर्माण हुँदै



बागमती । बागमती सरकारको आवास कार्यक्रमअन्तर्गत मकवानपुर र चितवनमा घर बन्नेक्रम जारी छ ।

गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुन लागेको छ । गत आर्थिक वर्ष २०७७,७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ ।

दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर निर्माणको सम्झौता भएको बताइएको छ । चालु आबमा १२६ ले घर निर्माणका लागि प्रथम किस्ता लिएको सो कार्यालयले जानएको छ ।

चितवनमा १९२ घर निर्माणका लागि सम्झौता भएकोमध्ये ८३ ले प्रथम किस्ता बुझेर लगेको जानकरी दिइएको छ। कार्यालयबाट प्राप्त जानकरीअनुसार गत आवमा मकवानपुरमा घर निर्माणका लागि चार हजार ५०० को निवेदन परेको थियो । तीमध्ये जिल्लामा १९८ घर निर्माणको लागि छनोट भएको हो ।

उक्त कार्यक्रमका लागि रु पाँच करोड ४८ लाख बजेट विनियोजन भएको बताइएको छ । लाभग्राहीको १० प्रतिशत लगानी रहने गरी भूकम्पप्रतिरोधी सानो बरण्डासहितको दुई कोठे ढुङ्गामाटोले बनेको कच्ची घरको कूल लागत रु तीन लाख ५० हजार रहेको बताइएको छ । यसमा शौचालय अनिवार्य गरेको छ ।

सङ्घीय सरकारले सर्वप्रथम सुरु गरेको सो आवास निर्माणको काम अहिले प्रदेशमा हस्तान्तरण भएको छ । कोरोना महामारीको कारण गत आवमा घर निर्माणका प्रक्रिया पूरा हुन् नसकेको सो कार्यालयका प्राविधिकले जनाएका छन् । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुदायलाई जनता आवास कार्यक्रममा समेटिएको छ ।



प्रतिक्रिया दिनुहोस !