११ बैशाख २०८१, मंगलवार

बुढा बुढीको उमेरमा धेरै फरक भयो भने देखिन्छन् यस्ता समस्याहरु !



एजेन्सी। हामीकहाँ के मान्यता छ भने, पतिभन्दा पत्नीको उमेर कम हुनुपर्छ । हुन्छ पनि यस्तै । अपवादमा केही पत्नी पतिभन्दा बढी उमेरका हुन्छन् । एकै उमेरका पति,पत्नी भने एउटा संयोग मात्र हुनसक्छ । सामान्यतः के देखिन्छ भने, पति भन्दा पत्नी दुई, तीन वा चार बर्षले कम उमेरकी । किन यस्तो हुनुपर्छ ? यसमा केहि सामाजिक र मनोवैज्ञानिक तर्क छन् । हाम्रो जस्तो पुरुषप्रधान समाजमा घरव्यवहार सम्हाल्ने वा परिवारलाई सही दिशावोध दिने भनेको पतिले हो भन्ने धारणा छ । यही धारणाले गर्दा पति परिपक्क हुनुपर्ने सोचाई छ ।

तर, के पनि देखिन्छ भने पति र पत्नीबीचको उमेर अन्तर बढी नै भएको । जस्तो कि, पतिभन्दा पत्नी आठ, १० वा १२ बर्ष कम उमेरकी । यस किसिमको उमेर ग्यापलाई पनि हाम्रो समाजले सजिलै पचाइदिन्छ । जबकी यहि कुरा पुरुषको हकमा लागु हुँदैन । अर्थात पत्नीभन्दा आठ, दश बर्ष कान्छो पति हुनु आश्चर्यको विषय बन्छ । बहसको बिषय बन्छ । कति पुरुषले आफुभन्दा निकै कम उमेरकी पत्नी भित्राउने गर्छन् । पहिलो पत्नीसँगको विच्छेद वा अन्य कारण हुनसक्छ, यसमा ।

#के फरक पर्छ ?
भनिन्छ, एक राम्रो र स्वस्थ्य सम्बन्धको कडी हो समझदार र परिपक्कता । तर, यसमा उमेर अन्तरले खास असर पार्छ । पति वा पत्नीको सोंच्ने, बुझ्ने क्षमता वा परिपक्कता उनीहरुको उमेर अनुसार पनि निर्धारण हुन्छ । फरक उमेरका पति र पत्नीबीचको सोच्ने शैली, बुझ्ने क्षमता एकैनास हुन्छ भन्ने छैन । यस्तो अवस्थामा उनीहरुबीच खास तालमेल हुँदैन । घरायसी, व्यवहारिक कुरामा उनीहरुको सोचाई विपरित हुनपुग्छ । एकजना बढी परिपक्क हुने, अको आलाकाँचो हुने । एकजना अर्कोमाथि बढी हावी हुने जस्ता संभावना अधिक रहन्छ । पति,पत्नीबीचको उमेर अन्तरले उनीहरुको सम्बन्धमा निश्चयनै असर पार्छ । थोरै उमेर(अन्तरले सम्बन्धमा खास असर पार्दैन । तर, १०,१२ बर्षको ग्याप भयो भने त्यसले केहि न केहि असर पार्छ । उमेरको यो भेदलाई मेट्ने भनेको पतिरपत्नीको आपसी समझदारी हो । दुबैले एकअर्काको अवस्थालाई बुझ्ने हो भने यसले खास समस्या पार्दैन । भनिन्छ, प्रेमको कुनै सीमा हुँदैन । त्यसैले प्रेमपूर्वक सम्बन्धमा उमेर ग्यापको प्रभाव पार्न दिन हुँदैन ।

#परिपक्कता मिल्नुपर्छ :
हामी सोच्छौ, धेरै उमेरका व्यक्तिमा परिपक्कता हुन्छ । कम उमेरमा त्यस्तो परिपक्कता हुँदैन । यसले दुबैको काम गराई, सोचाई आदिमा प्रभाव पार्छ । यद्यपी परिपक्कता उमेरले मात्र ल्याउने कुरा होइन । हाम्रो सोचाई, बुझाई, काम गराई आदि यसमा निर्भर गर्छ । त्यसैले उमेर ग्यापलाई मेन्टेन गर्नका लागि दुबै परिपक्क हुन जरुरी छ ।

#सेक्स लाइफमा समस्या :
उमेर अन्तरले यौन जीवनमा असर पार्छ नै । यौन इच्छा कसैमा तिब्र हुन्छ, भने कोही यसमा उदासिन हुन सक्छन् । यौन सम्बन्धका लागि दुबैको तालमेल नमिल्न सक्छ । फेरि उमेर ढल्कदै गएपछि यौन समस्या पनि आउनसक्छ ।

#बिवाहअघि गरौं यस्तो तयारी :
अहिले बिवाहको मौमस छ । बिवाह, जसलाई बन्धन, सम्झौता पनि भन्ने गरिन्छ । बिवाहपछि फरक पृष्टभूमिमा हुर्किएका महिला र पुरुष आपसमा एक हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुको सोचाई, बुझाई, काम गराई सबैमा तालमेल मिल्छ भन्ने छैन । तर, सफल दाम्पत्यका लागि पतिरपत्नीबीच तालमेल हुनु जरुरी छ ।

#बिवाहअघि यी कुरामा ख्याल गर्दा अत्यन्तै राम्रो :

1. बिवाहअघि म्यारिटल काउन्सिलिङ लिनु उपयुक्त हुन्छ । यसले दाम्पत्य सम्बन्धलाई बुझ्न मद्दत गर्छ ।
2. पार्टनरको पारिवारिक पृष्टभूमीबारे जानकारी हुनुपर्छ । कुनै भ्रम, द्विविधा भए त्यसमा स्पष्ट हुनैपर्छ ।
3. पार्टनरबाट बढी अपेक्षा गर्नु हुँदैन । अपेक्षा पुरा नहुँदा मन खल्लो हुन्छ, जसको असर दाम्पत्य सम्बन्धमा पर्न जान्छ ।
4. आफ्नो बिचार, दृष्टिकोण मात्र लाद्नु सही हुन्न । पार्टनरको विचार, भावनाको सम्मान हुनुपर्छ, जसले आपसी सम्बन्ध बलियो बनाउँछ ।
5. बिवाहपछि कसरी आर्थिक व्यवस्थापन गर्ने भन्ने कुरामा बिवाहअघि नै आवश्यक तयारी गर्नु उत्तम हुन्छ । यसले बिवाहपछि आउन सक्ने संभावित आर्थिक संकटबाट बच्न सकिन्छ ।
6. भनिन्छ, बिवाह सम्झौता हो । यसमा एकअर्काको कमी कमजोरीलाई पनि स्विकार्नुपर्ने हुन्छ । मानिस हरेक कुरामा पूर्ण हुँदैन । सबैमा गुणमात्र हुँदैन । यो मानविय प्रवृत्तिलाई सहज रुपमा ग्रहण गर्नुपर्छ ।
7. देखासेकीका लागि खर्चिलो र भड्किलो व्यवहार गर्दा त्यसले दाम्पत्य जीवन धराशयी हुनसक्छ । त्यसैले अरुको लागि होइन, आफ्नै लागि स्वभाविक जीवनशैली अपनाउनुपर्छ ।
8. पार्टनरको आफन्त, परिवारजन, इष्टमित्रलाई पनि उत्तिकै सम्मानजनक र समान दृष्टिले हेर्नुपर्छ, जति आफ्ना आमाबुवा, दाजुभाई, काकाकाकी आदिलाई हेरिन्छ ।
9. सबैको आर्थिक धरातल एकनास हुँदैन । यदि पार्टनरसँग आफ्नो आर्थिक धरातल नमिलेमा त्यसको असर दाम्पत्य सम्बन्धमा पर्न दिनु हुँदैन ।
10.बिवाहपछि पार्टनरको पूर्व प्रेमी वा प्रेमिकाको बारेमा चासो गर्ने, त्यसैलाई बहसको विषय बनाउने गल्ती नगरौ, जसले दाम्पत्य सम्बन्ध चिरा पार्न सक्छ ।
11. दाम्पत्य सम्बन्ध विश्वासमा टिकेको हुन्छ । त्यसैले विश्वासको धरातल कमजोर हुन दिन हुँदैन ।

 



प्रतिक्रिया दिनुहोस !