११ बैशाख २०८१, मंगलवार

कुन समुहले हात पारे त ‘दोहोरी च्याम्पियन’ को उपाधि



काठमाडौं । रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि गायक प्रकाश पराजुली र गायिका मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखराको फेवा किनारमा भएको फाइनलमा प्रकाश र मीनाको जोडीले बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै उपाधि जितेका हुन् । बालचन्द्र र शोभा उपविजेता बनेका छन् ।

उपाधि जितेसँगै प्रकाश र मीनाको समूहले २० लाख नगदसहित ट्रफी र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले १० लाख नगदसहित ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यसैगरी सविन आचार्य र रीता रावतको समूहले तेस्रो स्थान हासिल गरेको छ । राजेन्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आधारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भएको हो । राजेन्द्र र मीनाको समूह चौथो भएको छ ।

तृतीय र चौथो हुनेलाई तीन लाख र दुई लाख नगद दिइएको छ । ‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि।जी। र गायक तथा गीतकार चन्द्र शर्मा रहेका थिए । त्यस्तै चर्चित गायक बद्री पंगेनी र गायिका प्रिती आलेले कार्यक्रम संचालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !