१४ बैशाख २०८१, शुक्रबार

हेटौँडामा बस र ट्रक एक आपसमा ठोक्किँदा २ को मृत्यु, १८ जना घाइते



मकवानपुर । मकवानपुरको हेटौँडामा यात्रु बाहक बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा जनकपुरबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना. ७ ख ८७६ नम्बरको यात्रु बाहक बसलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर २ ०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राती १२ः३० बजेको समयमा एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा बसमा सवार २ जना पुरुष यात्रुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा बसमा सवार हाल नाम थर वतन नखुलेको वर्ष अन्दाजी ३० का २ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा १:३० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाए । उनीहरूको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ । उनका अनुसार दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा र ३ जनाको हेटौँडा–१ मा रहेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकको बाराको निजगढ नगरपालिका–४ पुरानोटोल बस्ने वर्ष ३३ को टंकबहादुर बि.क.सामान्य घाइते भएको र हाल उनी प्रहरीको नियन्त्रणमा रहेका छन्। घटना बारे थप अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !