७ बैशाख २०८१, शुक्रबार

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न



काठमाडौं। सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो ।

चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ दिएपछि यो पर्व सम्पन्न भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगा सहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वरबधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !