१२ बैशाख २०८१, बुधबार

चितवनको माडीमा हात्तीले भत्कायो घर



माडी । चितवनको माडीमा धान थन्क्याउने समयमा हात्तीको ताण्डव देखाउँदै घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । माडी नगरपालिका वडा नं ३, धोबाहाको पश्चिम टोलमा रातिमा आएको चारवटा हात्तीले दुईवटा घरमा पूर्णरुपमा क्षति पु¥याएको छ ।

रातको समयमा आएका हात्तीको बथानले घर भत्काउनुको साथै उखुबारी, बारीमा लगाइएको तरकारी बाली तथा केराबारी सखाप पारेको छ ।

हात्तीले महतोको घर फोरेर चामल, लत्ताकपडा र अन्न बालीसमेत नोक्सान गरेको पीडित महतोले बताए । रातिको समयमा हात्तीको बथान आएको र नोक्सान धेरै भए पनि त्यसदिन धरपरिवार बाहिर गएको अवस्था परेको कारणले ज्यान जोगाउन सफल भएको हो ।

यस्तै, हात्तीको बथानले धोबाहा निवासी टीका महतोको घरको एकतिरको भित्ता भत्काइदिएको छ । त्यसैगरी रातिको ३ बजेतिर पाँच र छवटा हात्तीको हुल बाँधेर आएको बथानले दुई क्विन्टल धान, चामल, किराना पसलमा बेच्न राखिएको सम्पूर्ण सामानहरु, फिल्टर, गोठमा समेत क्षति पु¥याएको छ ।

जंगली हात्तीको आतंकले स्थानीयवासी त्रसित भएको र हात्ती आतंक नियन्त्रण गर्नका लागि कुनै विकल्प नरहेको जानकारी प्राप्त भएको छ । गाउँबस्तीमै छिरेर जनमानसमा सन्त्रास बढाएको हात्तीको बथानले पछिल्लो समय काटेर थन्क्याएको धानसमेत विनाश गरी दुःख दिने गरेको छ । कृषकहरुले भकारी र बोरामा थन्क्याइसकेको धान खाने र छरिदिने गरेर हात्तीको बथानले साह्रै दुःख दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जछेउका गाउँहरुमा बसोवास गरिरहेका माडीवासी, माडीको द्रौपतिनगर, पाण्डवनगर, वनकट्टा, भैरवपुर, पौहारी, धोबाहा, सिमरा, दिवानगर, कृष्णनगर, कान्छी बगही र गणेशकुञ्जलगायतका गाउँमा हात्तीको त्रास उच्च रहँदै आएको छ । यता केही दिनअघि जंगली हात्तीले माडी ७, गौरीनगरस्थित जीवनाथ दवाडी र भक्तिमाया क्षेत्रीको दुईवटा घरमा क्षति पु¥याएको थियो ।

मुख्यतः धान काट्ने र थन्क्याउने समयदेखि सुरू हुने हात्तीको ताण्डव चैत वैशाखसम्मै उच्च रहँदै आएको छ । हात्ती नियन्त्रणका निम्ति भएका प्रयासहरु कममात्र प्रभावकारी रहँदै आएकाले भरपर्दो र दीर्घकालीन उपाय तत्कालै अवलम्बन गरिदिन र हात्तीले गरेको नोक्सानको क्षतिपूर्ति उपलब्ध गराउन प्रभावित क्षेत्रवासीहरुको माग रहेको छ । धेरैजसो जंगलछेउका कृषकका काठेघर वा कच्चीघर भत्काउने वा ढलाउने गर्दै आएको जंगली हात्तीको बथानले गाउँको बीचमै पुगी पक्कीघर र फलामे झ्यालढोकासमेत फुटाउन थालेको छ ।



प्रतिक्रिया दिनुहोस !