१२ बैशाख २०८१, बुधबार

कैलाली युवक हत्या प्रकरण : थप एकजना पक्राउ



धनगढी । गत मंगलबार राति कैलालीको टीकापुरमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

धारिलो हतियार प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्न भएको आरोपमा लम्कीचुहा-५ का २४ वर्षीय विकास खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले खड्कालाई लम्की क्षेत्रबाटै पक्राउ गरेको हो। गत २३ कात्तिकमा टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै बडुवालको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आरोपमा यसअघि ८ जनालाई पक्राउ गरिसकेको छ

जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले युवक हत्या घटनाको अनुसन्धान गरिरहेको छ । कैलाली प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको समेत विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याएपछि नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) को छुट्टै टोली समेत अनुसन्धानका लागि खटाइने भएको छ ।

जिल्ला र प्रदेशबाट टीकापुरमा युवकको हत्या भएको घटनाको अनुसन्धानका लागि सीआईबीका अधिकारी माग भई आएकाले खटाउने तयारी भइरहेको छ, सीआईबीको विशेष टोली काठमाडौँबाट कैलाली गएर सोमबारदेखि आफ्नो काम शुरु गर्नेछ ।

प्रहरी स्रोतकाअनुसार बडुवाल हत्या प्रकरणमा लम्की र टीकापुर क्षेत्रमा विगतदेखि नै अपराधिक गतिविधि गर्दै आएको गिरोह संलग्न रहेकाले यो घटना आकस्मिक नभएर संगठीत अपराध अन्तरगत भएको हुनसक्छ ।

त्यसकारण पनि बडुवाल हत्या प्रकरणलाई प्रहरीले गम्भीर रुपमा लिएर अनुसन्धान गरिरहेको हो, एक जना अधिकारीले भने, यो घटनामा उनीहरुलाई कारवाहीको दायरामा ल्याउन सकेमा टीकापुर र लम्की क्षेत्रमा धेरै हदसम्म अपराधिक गतिविधि न्यूनीकरण हुने विश्लेषण छ ।

पछिल्लो समय पुर्वी कैलालीको यो क्षेत्रमा हत्या, हिंसा जस्ता अपराधिक गतिविधि बृद्धि हुँदै गएको समेत प्रहरीको तथ्यांकले देखाउँछ ।

 



प्रतिक्रिया दिनुहोस !