१२ बैशाख २०८१, बुधबार

कारागार भित्रै कैदी मृत अवस्थामा



रौतहट । जिल्ला कारागार रौतहटमा एक कैदी मृत अवस्थामा भेटिएका छन् । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका कारागाराका  प्रमुख शम्भुप्रसाद यादवले बताए ।

२०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

बुधबार साह शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीहरु हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका कारागारका निमित्त प्रमुख यादवले बताए ।

कारागारभित्रकै शौचालयमा उनी झुण्डिएको अवस्थामा अरु कैदीले देखेका थिए । शौचालय भित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेका साहलाई  तत्कालै अस्पताल पुर्‍याइएको थियो ।

तर जिल्ला अस्पताल गौरमा ल्याउँदा मृत्यु भइसकेको अस्पताले जनाएको छ । कैदी मृत्युको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !