१५ चैत्र २०८०, बिहीबार

भान्साको खर्च घटाउने विद्युतीय चुलाहरु (हेँरौ न त फोटो)



काठमाडौं । दिन प्रतिदिन पेट्रोलियम पदार्थ र ग्यासको बढ्दो मूल्यले नेपाली भान्सा महँगिएको छ । केही दिनअघि नेपाल आयल निगमले ग्याँसको भाउ एकैपटक प्रतिसिलिण्डर ७५ रुपैयाँले बढायो । जसले नेपाली भान्सालाई झनै महँगो बनाएको छ ।

एर्कातिर आयातित ग्याँसको भाउ बढ्दै गएको छ भने अर्कोतिर नेपालमै उत्पादित बिजुलीले बजार खोजिरहेको अवस्था छ । यसको लागि विद्युत प्राधिकरणले बुधबारदेखि विद्युतको आधारभूत शुल्कमा कमी पनि ल्याएको छ । तर, अब ग्याँसको बढ्दो मूल्यको असरबाट बच्न के गर्ने ? जानकारहरू बढ्दो मूल्यवृद्धिलाई नियन्त्रण गर्न भान्सालाई विद्युतीकरण गर्न सकिने सुझाव दिन्छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत प्रकाश शर्मा ढकाल ग्यासको प्रयोगलाई नियन्त्रण गर्नको लागि विद्युतीय भान्साको अवधारणालाई अघि बढाउनुपर्नेमा जोड दिन्छन् । विद्युतको आन्तरिक खपत बढाउनको लागि विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहित गर्न जरूरी रहेको उनी बताउँछन् ।

एक सरकारी अध्ययन अनुसार खाना पकाउने ग्यासको विस्थापन गरी विद्युतीय चुलो प्रयोग गर्दा मात्र पनि कुल कार्बन उत्सर्जनमा ११ प्रतिशत कमी आउँछ भन्ने देखाएको छ । त्यसैले मूल्यवृद्धि नियन्त्रण एवं कार्बन उत्सर्जनको कमीको लागि पनि विद्युतीय चुलो सहयोगी हुने जानकारहरुको मत छ ।

विद्युतीय भान्साको लागि के, के छन् विकल्प ?

कुनै पनि विद्युतीय चुलो किन्दा त्यसको पावर रेट, प्रिसेट भ्यालु, सुरक्षाको लागि आवश्यक फिचर, चुलोको प्यान साइज लगायतका विषयलाई ध्यान दिनुपर्छ । बजारमा यस्ता अनेकथरी विद्युतीय चुलो पाउन सकिन्छ । एउटा कुकिङ प्लेटयुक्त विद्युतीय चुलोको बजार मूल्य एक हजार एक सय रुपैयाँदेखि शुरु हुन्छ । दुईवटा प्लेटयुक्त चुलो वा एउटै पनि बढीमा १८ / २० हजार रुपैयाँसम्म पर्ने पनि बजारमा पाइन्छ । यसरी बिजुलीबाट खाना पकाउने अनेक सुविधायुक्त चुलोहरु बजारमा पाइन्छन् ।

मिनी हट प्लेट स्टोभ

अहिले बजारमा चलेका विद्युतीय स्टोभमध्ये मिनी हट प्लेट स्टोभ पनि एक हो । तीन हजारदेखि चार हजार रुपैयाँसम्ममा पाइने यस्तो चुलो एक किलो तौलको हुन्छ । यसमा एक हजारको दरमा दुईवटा गरी २ हजार वाटको विद्युत क्षमता रहेको २ वटा कुकिङ प्लेट रहेको हुन्छ ।

इण्डक्सन चुलो

इण्डक्सन चुलो २०७२ सालमा भारतले गरेको नाकाबन्दीको समयमा नेपाली बजारमा निकै फस्टाएको विद्युतीय चुलो हो । अहिले नेपाली बजारमा थरीथरीका इण्डक्सन चुलो पाइन्छ । जसको मूल्य ३ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्ने गर्छ । खाना पकाइरहँदा पनि बाहिर नतात्ने, डिस्प्लेमा लेखिएका मेनु सहजै पढ्न सकिने, छिटो खाना पकाउनको लागि २,१०० वाटसम्मको उच्च पावरयुक्त इण्डक्सन चुलो बजारमा पाइन्छ । यस्ता इण्डक्सन २२०-२४० भोल्टसम्मका हुन्छन् ।

इन्फ्रारेड चुलो

बजारमा इण्डक्सन जस्तै देखिने तर अलिकति फरक इन्फ्रारेड चुलो पनि पाइन्छ । यसमा हानिकारक रेडिएसन नहुने, सेन्सरमा टच सुविधा, चार घण्टाको टाइमर फङ्सन, हाइ टेम्प्रेचर प्यानलजस्ता सुविधा पाइन्छ । साथै, १० वर्षे बडी वारेन्टीको सुविधा पनि इन्फ्रारेड चुलो पाइन्छ ।

यो इण्डक्सन चुलोभन्दा फरक यसकारण पनि छ कि इन्फ्रारेड चुलोमा छुँदा करेन्ट लाग्दैन । यो चुलोले ग्यासमा जस्तो आगो उत्पादन गर्दैन । त्यसैले पड्किने वा आगो लाग्ने सम्भावना हुँदैन ।



प्रतिक्रिया दिनुहोस !