१७ बैशाख २०८१, सोमबार

थप ४१ अर्ब ६० करोडको धितोपत्र सूचीकृत



काठमाडौँ। चालु आर्थिक वर्षको तीन महिनामा विभिन्न प्रकृतिका गरी थप कुल ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको धितोपत्र दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएका छन् ।

जसअनुसार ३३ अर्ब ३ करोड बराबरको ऋणपत्र, ३ अर्ब ५६ करोड बराबरको साधारण सेयर, २ अर्ब ५० करोड बराबरको सामुहिक लगानी कोष, १ अर्ब २८ करोड बराबरको बोनस सेयर र १ अर्ब २३ करोड बराबरको हकप्रद सेयर रहेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

सोही अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ६ अर्ब २ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । जसअनुसार ३ अर्ब बराबरको सामुहिक लगानी कोष, १ अर्ब ५८ करोड बराबरको साधारण सेयर, १ अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोड बराबरको हकप्रद सेयर रहेका छन् ।

गत असोजसम्म दोस्रो बजारमा सूचीकृत कम्पनीको संख्या २ सय २२ पुगेको थियो । सूचीकृत कम्पनीमध्ये १ सय ४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । ४१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७७ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २०९ थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरण हिस्सा ७०.७ % छ । यस्तै, जलविद्युत कम्पनीको हिस्सा ८.६ %, लगानी कम्पनीको ७.१ %, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ %, होटलको हिस्सा १.४ %, व्यापारिक संस्थाको हिस्सा ०.५ % तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.६ % छ ।

 



प्रतिक्रिया दिनुहोस !