१९ बैशाख २०८१, बुधबार

ए डिभिजन लिग : पहिलो खेलमै रातो कार्ड



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ को पहिलो चरण अर्थात म्याच विक वानका खेलहरु सकिएका छन् । १४ क्लब सहभागी लिगमा पहिलो चरणमा ७ खेल भए ।

फ्लड लाइटमा खेलाइएको उदघाटन खेलमा फ्रेण्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । सात खेलमध्ये चार खेलको स्पष्ट नतिजा आउँदा तीन खेल बराबरीमा सकिए । त्यसमा पनि दुई खेल एकएकको बराबरी र एक खेल गोलरहित बराबरीमा सकियो । ब्रिगेड ब्वाइज युनियन र एपीएफ फुटबल क्लबबीचको खेलमा कुल पाँच गोल भयो । एउटा खेलमा मात्र गोल भएन । पहिलो चरणमा कुल १६ गोल हुँदा १४ खेलाडीले गोल गरे ।

यसपटक एन्फाले टिकट दर १०० रुपैयाँ मात्रै राखेर दर्शकलाई आकर्षित गर्ने प्रयास गरेको थियो । यसबाट केही मात्रामा भए पनि दर्शकको संख्या बढेको देखियो । विशेषगरी थ्री स्टार र च्यासल युथ क्लबबीचको खेल हेर्ने दर्शकको उपस्थिति राम्रै थियो ।

#पहिलो खेलमै रातो कार्ड :

सिजनको पहिलो खेलमै रेफ्रीले रातो कार्ड देखाए । फ्रेण्ड्स र सातदोबाटो युथ क्लबबीचको खेलमा फ्रेण्ड्सका विदेशी खेलाडी गार्सियाले रातो कार्ड पाएका थिए । रोनेल एन्टोनी पउलले खेलको ७६ औं मिनेटमा रातो (दोहोरो पहेंलो) कार्ड पाएका थिए । उनले पहिलो पहेंलो कार्ड ६१औं मिनेटमा पाएका थिए ।

एक खेलाडी कम भए पनि फ्रेण्ड्सले सातदोबाटोलाई गोल गर्न भने दिएन । लिगको उदघाटन खेल नै गोलरहित बराबरीमा सकिएको थियो । रेलिगेसनबाट बच्ने लक्ष्य रहेको फ्रेण्ड्स अनि पहिलो पटक ए डिभिजन लिग खेलेको फ्रेण्ड्स ले एकरएक अंक जोड्दै लिग सुरुआत गरेको छ ।

#पहिलो चरणको खेलको नतिजा र गोलकर्ता :

फ्रेण्ड्स ०-० सातदोबाटो

हिमालयन शेर्पा १ (त्रिदेव गुरुङ)-१ संकटा -लक्ष्मण रुचाल)

च्यासल ०-३ थ्री स्टार (निशान खड्का, अनन्त तामाङ, राफायल रिम)

ब्रिगेड ३ (दिनेश राई-२ गोल, सुरज गुरुङ)-२ एपीएफ (आशिष लामा, विके तामाङ)

जावलाखेल ०-१ मनाङ (दिनेश राजवंशी)

पुलिस १ (सन्तोष हेमरुन)-१ आर्मी (विवेक बस्नेत)

मछिन्द्र २ (सुनिल बल/२ गोल)-१ एनआरटी (एरिक विष्ट)



प्रतिक्रिया दिनुहोस !