११ बैशाख २०८१, मंगलवार

‘न्यू इयर इभ’मा आन्तरिक पर्यटकहरूको उपस्थिति र रौनकले पर्यटन व्यवसायी उत्साहित



काठमाडौं । सन् २०२१ को शुरुआतले आन्तरिक पर्यटनमा आशाको सञ्चार गरेको छ । कोरोना महामारीले करीब १० महीना ठप्प जस्तै भएको पर्यटन क्षेत्रमा ‘न्यू इयर इभ’मा देशका विभिन्न ठाउँमा आन्तरिक पर्यटकहरूको उपस्थिति र रौनकले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

बाह्य पर्यटकको उत्सव मानिने ‘न्यू इयर इभ’ केही वर्षदेखि आन्तरिक पर्यटकका लागि समेत नयाँ उत्सव बने पनि कोभिडले यस्ता कार्यक्रम आयोजना गर्ने कि नगर्ने भन्ने दोधारका बीच आयोजना गरिएका कार्यक्रममा आन्तरिक पर्यटकको घुइँचो लागेपछि व्यवसायी उत्साहित भएका हुन् ।

आन्तरिक पर्यटकहरूको उपस्थिति बढ्दा कोभिडले थलिएको पर्यटनलाई आन्तरिक पर्यटनले भए पनि केही हदसम्म लयमा फर्काउन सकिन्छ भन्ने आशा उनीहरूको छ । विमान सेवा कम्पनीहरूले हवाई टिकटमा गरेको प्याकेजसहितको छूट अफर, होटेल तथा रेस्टुराँ व्यवसायीहरूले गरेका अफर तथा छूटले पनि आन्तरिक पर्यटन बिस्तारै चलायमान बन्दै जान थालेको पर्यटन व्यवसायीहरूको धारणा छ ।

नयाँ वर्षको अवसरमा काठमाडौं, पोखरा, चितवन (सौराहा), लुम्बिनी, दोलखा जस्ता पर्यटकीय गन्तव्यमा पर्यटकहरूको भीड बढेको थियो । पछिल्लो समय भारतसँग एअर बबल सहमति भएपछि विस्तारै भारतीय पर्यटकसमेत नेपाल आउन थालेका छन् ।

विश्वव्यापी रूपमा देखिएको कोरोना महामारीको जोखिमले बाह्य पर्यटक आउने अवस्था नरहेको सन्दर्भमा नयाँ वर्षमा आयोजना गरिएका कार्यक्रम र पर्यटकको उपस्थितिले आन्तरिक पर्यटन चलायमान हुने आशा देखिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले बताए ।

‘बन्द भएर बसिरहनु पर्दा मानिसलाई कहाँ जाउँ के गरौं भएको अवस्थामा नयाँ वर्षमा आयोजना गरिएका कार्यक्रमले पक्कै उत्साह थपेको छ,’ उनले भने, ‘अब स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना गर्दै पर्यटकीय गतिविधि अगाडि बढाउनुको विकल्प छैन ।’ यो समाचार आर्थिक अभियान दैनिकमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !