२० बैशाख २०८१, बिहीबार

सर्तकताको खाँचो



काठमाडौं। महाधिवेशनका नाममा नेताहरू भिड जुटाउन र देखाउन व्यस्त छन् । उनीहरूको यही मूर्खताका कारण कोभिड-१९ को महामारी फैलने डर फेरि बढेको छ ।

देशभित्र दिनहुँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या केही बढी भए पनि सङ्क्रमण रोकिएको छैन । यसैबीच दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट देखिएकोले विश्व स्वास्थ्य स‌ङ्गठनले समेत सावधान गराइसकेको छ ।

कोभिड-१९ विरुद्धको खोप अभियानको प्रगति निराशाजनक नभए पनि विभाजन कायमै छ । गाउँका गरिब र अपेक्षाकृत पहुँच नहुनेहरूले अझै पनि खोप पाएका छैनन् ।

उता देशका सबै ठूला राजनीतिक दलको महाधिवेशन भइरहेको छ । नेकपा (एमाले)कै शैली अरू दलले पनि अपनाए भने एकैपटक सङ्क्रमण देशव्यापी र भयावह हुनसक्छ ।

गएको वर्ष सङ्क्रमण अपेक्षाकृत मत्थर भइसकेका बेला राजनीतिक दलहरूले भिडभाड प्रदेशन गरे । त्यसपछि सरकारले लामो समयसम्म निषेधाज्ञा लागू गरेको थियो ।

कोभिडको नयाँ स्वरुप ‘ओमिक्रोन’को अध्ययन भइरहेकाले संसारका विभिन्न देशले आवतजावतमा पुनः कडाइ गरेका छन् । नेपालमा भने भिड बटुल्ने होड सुरु भएको छ ।

अहिले पनि त्यही अवस्था दोहोरिने खतरा कायमै छ । सरकार वा राजनीतिक नेतृत्व जिम्मेवार भइदिने हो भने जनताले सामान्य सावधानीमात्र अपनाएर दैनिक कामकाज गर्न पाउँथे ।

सरकार र विशेषगरी राजनीतिक नेताहरू गैरजिम्मेवार भएकाले जनताले नै बढी सावधानी अपनाउन जरुरी देखिन्छ । विशेषगरी विद्यालय, सार्वजनिक यातायात, बजार, कलकारखानाजस्ता भिडभाड हुने क्षेत्रमा पूर्ण सावधानी अपनाउनुपर्छ ।

 

 



प्रतिक्रिया दिनुहोस !