१३ बैशाख २०८१, बिहीबार

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १४ महिनायताकै न्यून



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । साताको सुरुवाती तीन दिनमा लगातार ओरालो लाग्दा १०० अंकभन्दा माथिको गिरावट भएको बजारमा आज भने एकल अंकको सामान्य सुधार भएको हो ।

आज बजार परिसूचक नेप्से ५.२८ अंकले बढेर २६३३.६६ अंकमा बन्द भएको छ । मौद्रिक नीति समीक्षापश्चात् आइतबार र सोमबार उच्च गिरावटपछि मंगलबार केही सम्हालिएको नेप्सेमा समान्य गिरावट भए पनि आज भने केही सुधार भएको छ ।

नेप्सेमा एकल अंकको सुधार हुँदा बैंकिङ उपसूचक ०.०९ प्रतिशतले वृद्धि भएको छ । यस्तै, अन्य उपसूचक ०.९५ र अन्य उपसूचकमा ०.८९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर उपसूचक पनि समान्य बढेका छन् । यता, होटले तथा पर्यटन उपसूचक ०.५५ प्रतिशतले गिरावट हुँदा निर्जीवन र जीवन बिमा तथा लघुवित्त उपसूचकमा सामान्य गिरावट भएको छ ।

बजार परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने तीन अर्बबाट पनि तल झरेको छ । आज नेप्सेमा ५३ लाख १० हजार २१५ कित्ता सेयर कारोबार हुँदा दुई अर्ब ७४ करोड २० लाख ८५ हजारको कारोबार भएको छ ।

नेप्सेमा कारोबार रकम लगातार घट्दै गएको छ । आइतबार पाँच अर्ब नाघेको कारोबार रकम सोमबार चार अर्ब हुँदै मंगलबार तीन अर्बबाट तल झरेकोमा आज दुई अर्ब ७४ करोडमा सीमित भएको छ ।

आज नेप्सेमा ०७७ असोज ४ गतेयताकै न्यून कारोबार भएको छ । उक्त मितिमा दुई अर्ब ७४ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम पनि १४ महिनायताकै न्यून हो ।



प्रतिक्रिया दिनुहोस !