६ बैशाख २०८१, बिहीबार

महिला भलिबल टोलीको फेरियो लक्ष्य



काठमाडौं । नेपाली महिला भलिबल टोली अहिले दुई वर्षअघि बंगलादेशको ढाकामा जितेको ऐतिहासिक उपाधि रक्षा गर्ने अभियानमा जुटेको छ ।

नेपाली महिला भलिबल टोलीले ०७६ कात्तिकमा सम्पन्न एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यो नेपाली महिला भलिबल टोलीले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो । अहिले त्यही प्रतियोगिताका लागि तयारी भइरहेको छ ।
खेलाडीको अनुहार हेर्ने हो भने त्यति बेला र अहिलेको टोलीमा खास भिन्नता छैन । खेलाडी उही छन् । प्रशिक्षक उही छन् ।

त्यसबाहेक अर्को एउटा महत्त्वपूर्ण भिन्नता छ । त्यो हो, टिमको लक्ष्य । दुई वर्षअघि टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुल्ले र सकेसम्म जित्ने लक्ष्य थियो । तर, अहिले नेपाली महिला टोलीको लक्ष्य जसरी हुन्छ उपाधि रक्षा गर्ने भन्ने हो ।

“त्यति बेला १३औँ सागको तयारी गरिरहेका थियौँ । त्यसकारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने, हामीले तेस्रो पदकसम्म जितिसकेका थियौँ । त्यसैले त्योभन्दा माथिको जित्नुपर्छ भन्ने थियो । उपाधि जित्यौंँ । अहिले जाँदा हाम्रो लक्ष्य उपाधि रक्षा गर्ने हुनेछ,” नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले भने ।

टोलीले अहिले आउँदो पुस ६ देखि १४ गतेसम्म बंगलादेशको ढाकामा हुने प्रतियोगिताको तयारी गरिरहेको छ ।

दुई वर्षअघि बंगलादेश प्रस्थान गर्नुअघि नेपाली महिला टोलीले थाइल्यान्डमा स्थानीय क्बलहरूसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यहाँ विशेष प्रशिक्षण पनि गरेको थियो । थाइल्यान्ड जानुअघि पनि टोलीले नेपालमै प्रशिक्षण गरेको थियो । काठमाडौंमा हुने १३औँ सागको तयारी गरिरहेको थियो ।

१३औँ सागका लागि टोलीको छनोट गर्दा मुख्य प्रशिक्षक भट्टको चर्को आलोचित पनि भएको थियो । उनले अनुभवी कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङलगायत केही सिनियर खेलाडीलाई टोलीबाट हटाइदिएका थिए । र, नयाँ अनुहारलाई मौका दिएका थिए । टोलीमा आधाभन्दा धेरै नयाँ अनुहार थिए । जोसँग अन्तर्राष्ट्रिय खेलको अनुभव थिएन । त्यति बेला प्रशिक्षक भट्टले भनेका थिए, “भविष्यका लागि टिम बनाएको हो ।”

उनको त्यही टोलीले बंगलादेशमा ऐतिहासिक स्वर्णपदक जित्न सफल भयो । लगत्तै नेपालमै सम्पन्न १३औँ सागमा नेपालले रजतपदक जित्यो । फाइनलमा नेपालले भारतलाई पहिलो दुई सेटमा हराएको थियो । तर, भारतले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै स्वर्ण जित्यो । नेपाली टोलीले रजतमा चित्त बुझाउन बाध्य भयो । तर, त्यही रजतपदक पनि नेपाली महिला भलिबल टोलीले सागमा पहिलोपटक जितेको थियो ।

त्यो टोली अहिले विस्तारै परिपक्व हुँदै छ । कप्तान अरुणा शाही त्यही भन्छिन्, “त्यति बेला र अहिलेको टोलीमा धेरै फरक छ । त्यति बेला टोलीमा धेरै नयाँ अनुहार थिए । अनुभवको कमी थियो । त्यसपछि हामीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छौँ । खेलाडीको मनोबल बढेको छ । अनुभव बढेको छ ।”

बंगलादेशमा ०७६ कात्तिकमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । पहिलो सेटमा २५–१३ को जित निकालेको नेपालले दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५–८ ले जित्दै नेपालले उपाधि पक्का गरेको थियो । नेपालकै प्रतिभा माली प्रतियोगिताको ‘बेस्ट स्पाइक’ घोषित भइन् भने कप्तान अरुणा शाही ‘बेस्ट सेटर’ बनेकी थिइन् ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानको सहभागिता थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताभर नेपालले कुनै पनि सेट गुमाएन ।

नेपाली महिला भलिबल टोलीले विभिन्न समयमा मैत्रीपूर्ण खेल खेले पनि सन् १९९९ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको हो । त्यो भनेको नेपालमै सम्पन्न आठौँ साग प्रतियोगिता थियो । सागमा नेपालले कास्यपदकभन्दा माथिको सफलता हासिल गर्न सकेको थिएन ।

२०१४ मा काठमाडौं सम्पन्न दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको थियो । त्यो नै महिला भलिबलको सबैभन्दा ठूलो सफलता थियो । तर, दुई वर्षअघि महिला भलिबल टोलीले लगातार दुई महत्त्वपूर्ण सफलता हासिल गरेको थियो । अहिले त्यही साख जोगाउने अभियानमा छ ।

महिला टोलीले गएको असारमा फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण गरेको थियो । तर, कोभिड–१९ महामारीका कारण नेपाली टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएन । त्यही प्रतियोगिताका लागि छनोट गरिएका खेलाडी अहिले बन्द प्रशिक्षणमा छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा २० खेलाडी बिहान र बेलुका प्रशिक्षण गरिरहेका छन् । कात्तिक २८ गतेदेखि सुरु भएको प्रशिक्षणमा सहभागी २० खेलाडीलाई भोलि ९शुक्रबार० १६ मा झारिनेछ । त्यसको दुई सातापछि १२ खेलाडीको छनोट गरिने मुख्य प्रशिक्षक भट्टले बताए ।

“एसियन च्याम्पियनसिपका लागि टिम तयार गरेका थियौँ । ढेड महिनाजति प्रशिक्षण गरेपछि कोभिड–१९ महामारीका कारण हाम्रो प्रशिक्षण रोकिएको थियो । प्रतियोगिताकै पनि मिति सर्‍यो । त्यसपछि हाम्रो सहभागिता पनि भएन । त्यसलाई निरन्तरता दिएको भए अहिले टिम धेरै राम्रो हुन्थ्यो । तर, सुरु गर्न सकेनौँ,” प्रशिक्षक भट्टले टोलीको तयारीबारे भने, “तथापि, अहिले पनि टिम राम्रो छ । एक–दुई नयाँ खेलाडीहरू छन् । त्यो बेला खेल्न र जित्नका लागि गएका थियौँ । अहिले उपाधि रक्षा गर्न जाने हो । त्यहीअनुसार तयारी गरेका छौँ । खेलाडीको मनोबल पनि उच्च छ । मानसिक रूपमा खेलाडी त्यसका लागि तयार छन् ।”

एसियन च्याम्पियनसिपका लागि भएको बन्द प्रशिक्षणमा १७ खेलाडी थिए । अहिले नेपाल पुलिस क्लबका कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ थपिएका छन् । त्यति बेला उनीहरू पुलिसको अन्तरिक ट्रेनिङका कारण प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन् । त्यस्तै, बन्द प्रशिक्षणका लागि छनोट भएकी रिया कुँवर एसियल लिगामेन्टमा चोट लागेका कारण अहिले ‘रिह्याब’मा छिन् ।

“एसियन च्याम्पियनसिपका लागि तयारी गर्दा एकदम राम्रो गरेका केही खेलाडीको प्रदर्शन अहिले अलि खस्किएको छ । त्यति बेला केही कमजोर देखिएकाहरूले अहिले एकदम राम्रो गरिरहेका छन् । हामीसँग अझै दुईरतीन साता बाँकी छ । त्यति बेलासम्म सबैले आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछन् भन्नेमा म विश्वस्त छु,” कप्तान अरुणाले भनिन्, “हामी उपाधि रक्षा अभियानमा छौँ । त्यसमा सफल हुन्छौँ भन्नेमा म विश्वस्त छु ।”

प्रतियोगितामा यसपटक केही नयाँ टोली हुने अनुमान गरिएको छ । कुन–कुन टोली हुने भन्ने अझै टुंगो लागेको छैन । श्रीलंका, उज्वेकिस्तान, माल्दिभ्स, नेपाल र बंगलादेश लगभग पक्काजस्तै भएको छ । अरू टोलीबारे केही दिनपछि मात्र थाहा हुने मुख्य प्रशिक्षक भट्टले बताए ।

“विगतमा भन्दा चुनौतीपूर्ण हुनेछ । तथापि, हामीभन्दा धेरै माथिल्लोस्तरका टिम हुने छैनन् । श्रीलंकालाई हामीले सागमा सिधा तीन सेटमा हराएका थियौँ । योबीचको दुई वर्षमा उनीहरूले पनि खासै राम्रो प्रशिक्षण गर्न पाएको जस्तो लाग्दैन,” मुख्य प्रशिक्षक भट्टले सम्भावित प्रतिद्वन्द्वीबारे भने, “सबै टिम बलियो नै छन् । हामीले कुनै पनि टोलीलाई कमजोर आँकेका छैनौँ । र, बलियो छ भनेर डराएका पनि छैनौँ । त्यहीअनुसार प्रशिक्षण गरेका छौँ । नतिजा पनि राम्रो नै आउने विश्वास छ ।”



प्रतिक्रिया दिनुहोस !