११ बैशाख २०८१, मंगलवार

ए डिभिजन लिग : थ्री स्टार बराबरीमा, फ्रेन्ड्स अझै जितविहीन



काठमाडौं । अन्तिम १० मिनेट सम्हालिन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारमाथि लगातार दोस्रो जित निकाल्ने अवसरबाट चुक्यो । साथै, फ्रेन्ड्सले जारी लिगमा पनि पहिलो जित हासिल गर्ने मौका गुमायो ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्सले ५१औँ मिनेटमा नथानीयल जुडे गार्सियाको गोलबाट अग्रता लिएको थियो । कप्तान प्रकाश बुढाथोकीले बायाँ विंग्सबाट गरेको क्रसलाई पेनाल्टी बक्सभित्र रहेका गार्सियाले हेडमार्फत गोल गरेका थिए ।

त्यसको एक मिनेटअघि थ्री स्टारका रितिककुमार खड्काले ‘वान भर्सेस वान’मा गोल गर्ने सुन्दर मौका खेर फालेका थिए । त्यही बेलमा फ्रेन्ड्सले काउन्टर अट्याकमा गोल गरेको थियो ।

खेल सकिन आठ मिनेट बाँकी हुँदा थ्री स्टारका मिक्छेन तामाङले बराबरी गोल फर्काएका थिए । रितिकले दायाँ भागबाट गरेको क्रस फ्रेन्ड्सका रक्षकले राम्रोसँग क्लियर गर्न सकेका थिएनन् । त्यही बललाई पेनाल्टी क्षेत्रमा रहेका मिक्छेनले पोस्टको दिशा दिएका थिए ।

त्यसको तीन मिनेट नबित्दै थ्री स्टारले गोल गर्ने अर्को राम्रो अवसर खेर फाल्यो । फ्रेन्ड्सका गोलकिपर राहुल यादव अगाडि बढेको अवस्थामा रितिकले पेनाल्टी क्षेत्रको बायाँ भागबाट हानेको प्रहारलाई विपक्षी रक्षकले गोललाइनबाट हेड गर्दै बाहिर पठाइदिएका थिए ।

राबरीपछि थ्री स्टारले तीन खेलबाट चार अंक जोडेको छ । यसअघि, थ्री स्टार सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको थियो । फ्रेन्ड्स भने संकटासँग २–१ ले पराजित भएको थियो । त्यस्तै, फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटो युथसँग गोलरहित बराबरी खेलेको थियो ।

फ्रेन्ड्स गत सिजन पनि थ्री स्टारलाई १–० ले हराएको थियो । आज पनि अग्रता जोगाउन सकेको भए लगातार दोस्रो जित निकाल्ने थियो । तर, फ्रेन्ड्सले त्यो मौका गुमायो । फ्रेन्ड्सले तीन खेलबाट दुई अंक जोडेको छ ।

७५औँ मिनेटमा सन्जोक राईले पेनाल्टी क्षेत्रबाहिरबाट दोस्रो बार च्यापेर हानेको प्रहार बारमा लागेर फर्किएपछि थ्री स्टारले बराबरी गर्ने मौका गुमाएको थियो । सुरुमै फ्रेन्ड्सका फरवार्ड प्रिजेन तामाङले पेनाल्टी क्षेत्रबाहिरबाट हानेको प्रहार थ्री स्टारका गोलकिपर गुइलाउमे प्रीसोले मुस्किलले बचाएका थिए ।

२५औँ मिनेटमा सन्जोक राईले हानेको प्रहार थोरैले बाहिरिएपछि थ्री स्टारले पनि अग्रता लिने मौका गुमाएको थियो



प्रतिक्रिया दिनुहोस !