१६ चैत्र २०८०, शुक्रबार

सुरु भयो सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव



काठमाडौं। सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान राम र सीताको विवाह भएकाले सोको सम्झनास्वरुप परापूर्वकालदेखि नै विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिने जानकी मन्दिरले जनाएको छ ।

विवाह पञ्चमीमा भारत, बंगलादेश र नेपालका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु भक्तजन सहभागी हुने गर्दछन् । यद्यपि पछिल्ला वर्ष कोरोना संक्रमणका कारण भक्तजनको संख्या घटेको छ ।

राम जानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजा अर्चना गर्नाले पारिवारिक सुख शान्ति र हरेक दुःखबाट मुक्ति हुने धार्मिक विश्वास छ । यहाँ सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने र सातै दिनलाई रोचक तथा भव्य बनाउने योजना रहेको जानकी मन्दिरका महन्त रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !