११ बैशाख २०८१, मंगलवार

ब्रिगेड ब्वाइजको त्रिभुवन आर्मीलाई चुनौती



काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । एक टोलीमात्र रेलिगेशनमा पर्ने प्रावधान हुँदा ब्रिगेड ब्वाइज मुश्किलले जोगिएको थियो । त्यही दुई टोलीले आज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्दैछन् ।

जारी सिजन दुई खेल सकिँदा ब्रिगेड ब्वाइज अपराजित छ । दुई खेलबाट चार अंक जोडेको ब्रिगेड ब्वाइज चौथो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको त्रिभुवन आर्मी नवौं स्थानमा छ । यसपटक उपाधि जित्ने लक्ष्य बनाएको त्रिभुवन आर्मी पहिलो दुई खेलमा जितबिहीन बनेपछि आज दबाबमा हुनेछ ।

चोटबाट पीडित त्रिभुवन आर्मीलाई फरवार्ड सुदिल राईको चोटले झनै सताएको छ । सुदिल साविक विजेता मछिन्द्रको खेलमा घाइते भएका थिए । खुट्टामा चोट लागेपछि सुदिलले २८औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा जगजित श्रेष्ठ मैदान छिरेका थिए ।

फरवार्ड नवयुग श्रेष्ठ र रक्षक विकास खवास पहिले नै घाइते भएका थिए । नवयुग नहुँदा अग्रपंक्तिमा समस्या देखिएको त्रिभुवन आर्मी सुदिलको चोटले झनै समस्यामा परेको छ । दुई खेलमा त्रिभवुन आर्मीले एक गोलमात्र गर्न सकेको छ । त्यो पनि मिडफिल्डर विवेक बस्नेतले गरेका थिए । तथापि त्रिभवन आर्मीका सहायक प्रशिक्षक राजु तामाङले टोलीमा अन्य खेलाडीले रहेको बताएका छन् ।

त्रिभुवन आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । ब्रिगेड ब्वाइजले भने पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–२ ले हराएको थियो । जुन जारी लिगमा अहिलेसम्म सबभन्दा धेरै गोल भएको खेलमध्ये एक हो । अर्को धेरै गोल भएको खेल सातदोबाटो युथ र एपीएफ हो । त्यसमा सातदोबाटो युथ ४–१ ले विजयी भएको थियो ।

ब्रिगेड ब्वाइजले दोस्रो खेलमा भने न्युरोड टिम एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो । ब्रिगेड ब्वाइजका अफिसियल राजु श्रेष्ठले त्रिभुवन आर्मीलाई पनि रोक्न आफ्नो टिम तयार रहेको बताएका छन् ।

त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइजले ‘ए’ डिभिजन लिगमा यसअघि आठ खेलमा प्रतिस्पर्धा गरेका छन् । सबै खेलको नतिजा त्रिभुवन आर्मीको पक्षमा छ । अझ पछिल्लो पाँच संस्करणमा ब्रिगेड ब्वाइजले त्रिभुवन आर्मीविरुद्ध गोल गर्न सकेको छैन । अघिल्लो संस्करणमा त्रिभुवन आर्मी २–० ले विजयी भएको थियो भने विना रेलिगेशनको प्रावधान राखेर खेलाइएको २०७५ मा त्रिभुवन आर्मी १–० ले विजयी भएको थियो ।

आजको खेलमा पनि त्रिभुवन आर्मी तीन अंकका लागि खेल्ने सहायक प्रशिक्षक तामाङले बताए । हामीले यसअघि राम्रा प्रतिद्वन्द्वीविरुद्ध खेलेका थियौं । तर, हामी अझै पनि उपाधिको दाबेदार हौं । त्यही मानसिकता साथ हामी खेलिरहेका छौं । र, ब्रिगेड ब्वाइजविरुद्ध पनि तीन अंकका लागि खेल्ने हो ।

 



प्रतिक्रिया दिनुहोस !