१२ बैशाख २०८१, बुधबार

अझै सुरु हुन सकेन कांग्रेस महाधिवेशनको मतदान



काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ८ बजे सुरु हुने भनिएको मतदान बिहान साढे १० बजेसम्म पनि सुरु हुन सकेको छैन ।

बिहानैदेखि प्रतिनिधिहरु भोट खसाल्न लाइन लागेका छन् भने उम्मेदवारहरुले मत मागिरहेका छन् । मतदानका लागि भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भएको छ । १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि आज मतदानको कार्यतालिका छ ।

सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित एक सय ३४ पदका लागि भइरहेको निर्वाचनमा चार सय ८६ प्रतिस्पर्धामा छन्। दुई उपसभापतिका लागि सात जना, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन्। त्यस्तै, एक सय २१ सदस्यका लागि चार सय ४९ जना चुनावी मैदानमा छन्।

सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धा गर्दै छन् । देउवा–कृष्ण सिटौला समूह पहिलो चरणबाटै विजयी हुनेमा आशावादी देखिएको छ भने छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा होमिएका कोइराला, सिंह र निधिले निर्वाचन दोस्रो चरणमा पुर्‍याउने रणनीतिमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस !