१२ बैशाख २०८१, बुधबार

कांग्रेस निर्वाचनमा देउवाले गरे मतदान



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मतदान गरिसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । ।

आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान चार घण्टा ढिलो गरी मध्याह्न करिब सवा १२ बजेदेखि सुरु भएको हो । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रको बुथ ‘क’बाट मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान केन्द्र तोकिएको छ । महाधिवेशनका लागि एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदानमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । जारी महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या चार हजार ७४३ कायम छ ।



प्रतिक्रिया दिनुहोस !