११ बैशाख २०८१, मंगलवार

नेपालमा पहिलो पटक मिडिया अवार्ड हुँदै



काठमाडौं । नेपालमा पहिलो पटक सञ्चारकर्मीहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपाल मिडिया अवार्ड आयोजना हुने भएको छ । ड्रिम हाइ नेपालले उक्त अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो।

कार्यक्रमका लागि लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेड मुख्य प्रायोजक रहेको छ । अवार्डमा दुबईको कम्पनी ‘ब्लु चिप इन्भेस्टमेन्ट कम्पनी’ सहप्रायोजकको रूपमा आबद्ध भएको छ ।

दुबईमा ट्रेडिङ बिजनेस लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लु चिप इन्भेस्टमेन्ट कम्पनी’ ले बलिउड तथा साउथ इण्डियन फिल्ममा समेत लगानी गरिसकेको छ ।

ब्लु चिपका सिइओ रविन्दरनाथ सोनीले नेपालमा हुने अवार्ड कार्यक्रममा आफूहरू जोडिन पाउँदा खुसी व्यक्त गरे । आगामी दिनमा नेपालका विभिन्न क्षेत्रमा समेत लगानी गर्न लागेको उनको भनाइ छ ।

अवार्डमा सहभागी हुन उनीसहिको टिम नेपाल आउन लागेको छ ।

‘नेपाल मिडिया अवार्ड’ को कार्यक्रम निर्मात्रीको रूपमा पुनम यादव रहेकी छिन् । उनले यसअघि केही हिन्दी गीत निर्माण गरिसकेकी छन् भने चाँडै नेपाली र बलिउड फिल्म निर्माण गर्ने तयारीमा समेत छिन् ।

यादवले नेपालको अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने आफूहरूको योजना रहेको बताइन् । उनी अवार्ड कार्यक्रमलाई स्तरीय र भव्य बनाउन कुनै कसर नछाड्ने पनि जिकिर गरेकी छन् । त्यस्तै, ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसीले ‘ब्लुचिप’ सँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

नेपाल पत्रकार महासंघको सहयकार्यमा आयोजना हुने ‘नेपाल मिडिया अवार्ड’ मा टेलिभिजन, छापामाध्यम, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत संचारमाध्यम र सञ्चारकर्मीको पछिल्लो एक वर्ष यताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान गर्न लागेको आयोजक संस्थाका प्रमुख जिसीले बताए ।



प्रतिक्रिया दिनुहोस !