४ बैशाख २०८१, मंगलवार

अर्थमन्त्रीको यस्तो निर्देशन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुस मसान्तसम्म बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् । पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा शर्माले सबै मन्त्रालयहरुलाई यस्तो आग्रह गरेका हुन् ।

समयमा पूँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको भन्दै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न उनले आग्रह गरे ।

उनले भने, ‘बजेटहरूको सम्बन्धमा ढिलासुस्ती अर्थमन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिवद्धता व्यक्त गर्दछु । आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ ।’

समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण समन्वयलगायतका कार्यहरू समयमै गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिनेतर्फ समेत उनले सचिवहरूलाई सचेत दिएका छन् ।

उनले भने, ‘बजेट त्यहीँ बसिराख्दैन । यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन । असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ ।’

प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने समेत मन्त्रीले बताए ।

यसैगरी मन्त्री शर्माले अर्थ मन्त्रालयमा फाइल आएको तीन दिनभित्र त्यसको जवाफ पठाउन पनि निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !