६ बैशाख २०८१, बिहीबार

खेलाडीको कारबाही फिर्ता लिन क्यानलाई खेलकुदमन्त्रीको आग्रह



काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई बोलाएर कप्तान ज्ञानेन्द्र मल्ललगायत चार खेलाडीलाई गरिएको कारबाही फिर्ता लिन अनुरोध गरेका छन् ।

मन्त्री गहजराजले आज क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्रिकेट म्यानेजर विनोद दास मल्ललगायत पदाधिकारीलाई बोलाएर खेलाडीलाई गरिएको कारबाहीका विषयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

‘‘क्यान पदाधिकारीसँग खेलाडीको कारबाहीका विषयमा चासो लिनुभयो । मन्त्रीज्यूले सकभर कारबाही नगेर पुनर्विचार गर्न अनुरोध गर्नुभयो,’’ मन्त्री गहतराजका प्रेस संयोजक संगीन शर्माले भने, ‘‘यस विषयमा मन्त्रालयले हस्तक्षेप मन्त्रालय त गर्दैन, तर भर्खर खेल क्षेत्र चलायमान हुन लागेको अवस्थामा खेलाडीलाई कारबाही गर्दा असर पर्ने भएकाले पुनर्विचार गर्न अनुरोध गर्नुभयो ।’’

र, क्यान पदाधिकारीले पटक–पटक मौका दिँदा पनि खेलाडीले अटेरी गरेका कारण कारबाही गर्नुपर्ने बाध्यता भएको जवाफ दिएका थिए । पदाधिकारीले सरकारले हस्तक्षेप गर्दा नराम्रो हुने बताएका थिए ।

‘‘हामीले मौका दिएको हो, तर खेलाडीहरूले अटेरी गर्नुभयो, नियमभन्दा बाहिर जानुभयो,’’ क्यान पदाधिकारीलाई उदृत गर्दै शर्माले भने, ‘‘बाध्यताले कारबाही गर्नुपरेको भन्नुभयो ।’’

मन्त्री गहतराजले खेलाडी वर्गीकरणको समस्याबारे पनि चासो राखेका थिए । त्यस विषयमा मन्त्रीलाई विस्तृतमा जानकारी गराइने बताइएको छ ।

यसअघि, आजै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई खेलाडीको कारबाहीबारे ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चन्दलाई टेलिफोनमार्फत खेलाडीसँगको विवाद समाधान गर्न निर्देशन दिएका थिए ।

खेलाडी वर्गीकरणको विषयमा मिडियामा सार्वजनिक रूपमा वक्तव्यबाजी गरिएपछि क्यानले कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुको ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो ।

गएको मंसिर २९ गते बसेको क्यान बोर्ड बैठकले कप्तान मल्ललाई हटाएर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !