१० बैशाख २०८१, सोमबार

वैदेशिक रोजगारको नकारात्मक असरबारे सरोकारवालाको चासो !!!



चितवन। वैदेशिक रोजगारका कारण समाजमा उत्पन्न हुने नकारात्मक असरबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा शुक्रबार भएको कार्यक्रममा वैदेशिक रोजगारले विप्रेषण (रेमिट्यान्स), सीप र अनुभव भित्र्याए पनि सामाजिक असर भने पारिरहेको छ ।

वैदेशिक रोजगारका कारण परिवार तथा बालबच्चाबाट टाढा हुने, बालबच्चा र वृद्धा सदस्यको हेरचाहमा कमी, पारिवारिक बेमेल, विखण्डन, छोडपत्र र सामाजिक लाञ्छना, मानसिक तनावजस्ता समस्या निम्तिएको छ । वैदेशिक रोजगारीका कारण ऋण, ठगी, कारागार, शोषण, अलपत्र, अङ्गभङ्ग र मृत्युसम्मका घटना भएका प्रशस्त उदाहरण रहेको छ । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)को आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक समस्याबारे कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगारीका कारण सामाजिक विकृति बढ्दै गएको पुष्टि भएको छ।

त्यस्तै, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले वैदेशिक रोजगारीले आर्थिक अवस्था सबल बनाए पनि सामाजिक लागत एवं विकृति निम्त्याएको बताउएका छन् । त्यस्ता घटना कम गर्नतर्फ समाजमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताउए । वैदेशिक रोजगारबाट पाएको सीप, अनुभव र रेमिट्यान्सको सही सदुपयोग गर्नुपर्ने भन्दै आलेले शिक्षा नै समुन्नत समाजका लागि मागदर्शन भएकाले सबैलाई वैदेशिक रोगजारीबारे सही जानकारी दिनुपर्ने बताए ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले अहिले चेतनास्तर वृद्धि हुँदै गएको बताउँदै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको सुधार गर्दै गइयो भने लैङ्गिक विभेद एवं लाञ्छना कम हुने बताउएका छन् । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) का कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेले समाज विस्तारै परिवर्तन हुँदै गइरहेको बताउँदै सबैको सहयोगले सभ्य र सुसज्जित समाजको निर्माणमा जुट्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण गर्दै वैदेशिक रोजगारबारे परामर्श एवं सूचनाका लागि सम्पर्क गर्न आग्रह समेत गरिएको छ ।

डिसेम्बर १८ अर्थात् आज पुस ३ गते ‘सचेत, सीपमूलक र सुरक्षित रोजगार, मर्यादित श्रम रोजगारको आधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईदैछ ।

यसैबीच आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपुरले शैक्षिक सामग्री वितरण गरेको छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एवं सम्पर्कविहीन परिवारका बालबालिकाको अध्ययनमा सहयोगका लागि शैक्षिक सामग्री वितरण गरिएको मञ्चका जिल्ला अध्यक्षले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको पूर्वसन्ध्यामा शुक्रबार कावासोतीमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा १० जनालाई पोसाक, झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो । आप्रवासी कामदार हकहित संरक्षण मञ्चले यसअघि एक अभियानअन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको मञ्चकी जिल्ला उपाध्यक्ष बालकुमारी जिसीले जानकारी र्दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !